• ७ वैशाख २०८१, शुक्रबार

अधियाँ खेतीले परिवार पाल्दै माेहित

blog

धान थन्क्याउन व्यस्त मोहित । तस्बिर : रमेश विश्वकर्मा

गुल्मी, कात्तिक १२ गते । खेतबारी बाँझै राखेर चामल किनेर खानेहरूको सङ्ख्या बढ्दो छ । तर कपिलवस्तुकाे शुद्धोधन  गाउँपालिका ५ का मोहित कुमाल भने आफ्नो खेतबारी नभए पनि गुल्मीमा पुगेर अरूकै बारीमा अधियाँ (कमाइको आधा-आधा) धान खेती गरेर परिवारको गुजारा चलाउँदै आउनुभएको छ । 

अन्य समयमा इट्टा भट्टामा काम गर्ने कुमालले गाउँको दुई वटा खेतमा अधियाँ अर्थात् कमाइको आधा-आधा हुने गरी धान खेती लगाएर उत्पादन गर्ने गर्नुहुन्छ । उमेरले ४० वर्ष पुग्नुभएका मोहितले दुई बच्चासहित श्रीमतीको गुजारा यसरी नै चलाउँदै आएका छन् । अहिले धान भित्र्याउने समय भएकाले मोहित परिवारलाई भ्याइ–नभ्याई छ । 

मोहितले स्थानीय ठाकुर भुसालको १९ रोपनी खेतमा अधियाँमा धानखेती गर्दै आउनुभएको हो । अधियाँमा धान खेती गर्न मधेसमा पैसा तिर्नुपर्ने उहाँले बताउनुभयो । तर यहाँ त्यस्तो नहुँदा कृषि गर्न निकै सहज छ । खर्च कम, आम्दानी बढी हुने भएको खेतीप्रति आफू सन्तुष्ट रहेको उहाँले बताउनुभयो । 

यो वर्ष करिब २५ मुरी धान उत्पादन गर्ने उहाँ बताउनुहुन्छ । “धानखेती गर्नका लागि बीउ, मल र कामदार गरी २२ हजार रुपियाँ खर्च भए पनि एक लाखसम्म कमाउन सकिने उहाँले बताउनुभयो । त्यति, मात्र होइन मौसम अनुसारका खेती गर्दै र अन्य विभिन्न खालका तरकारी पनि आफूले लगाएको उहाँको भनाइ छ । “एक सिजनमा १८ जनालाई रोजगार दिएको छु ।” उहाँले भन्नुभयो, “रोजगार प्राप्त गर्नेमा सबै स्थानीयहरू हुनुहुन्छ ।”

“मैले १८ वर्ष बुटवलमा बसेर रङ लगाउने काम गरेको हुँ ।” मोहितले भन्नुभयो, “देश छोडेर अन्य देशमा काम गर्न जान मन लागेन । आफ्नै देशमा परिश्रम गर्ने हो ।” सबैले आफ्नो गाउँको जग्गालाई बाँझो नराखेर कृषिकर्म गरे सजिलै अर्थोपार्जन गर्न सकिने उहाँको सुझाव छ । 

Author

रमेश विश्वकर्मा