• ७ वैशाख २०८१, शुक्रबार

जसपाले घरदैलो अभियान तीव्र बनाउँदै

blog

गाेरखापत्र अनलाइन

बाँके, कात्तिक ११ गते । दीपावली सकिएसँगै जनता समाजवादी पार्टीले बाँके क्षेत्र नं २ मा आफ्नो निर्वाचन अभियान तीव्र बनाउँदैछ । क्षेत्र नं २ मा पर्ने २७ वटै वडामा भोलि (शनिबार) एकैसाथ जसपाले घरदैलो सुरु गर्दैछ ।   

घरदैलोका लागि जसपाले २७ वटै वडामा प्रतिनिधि खटाइसकेको छ । ५ दिन फिल्डमा तयारी गरेर प्रतिनिधिहरू आफूले जिम्मेवारी पाएको वडामा खट्न लागेको जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दिन राईले जानकारी दिएका छन् ।

जसपाबाट क्षेत्र नं २ को उम्मेदवार रहेका मोहम्मद इश्तियाक राई नेपालगन्ज वडा नं २१ मा हुने घरदैलो कार्यक्रममा सहभागी हुँदैछन् । प्रदेश सभा (क) का भण्डारीलाल यादव डुडुवाको वडा नं २ र प्रदेश सभा (ख) का उम्मेदवार आदेश कुमार अग्रवालले नेपालगन्ज वडा नं ११ को नेतृत्व गर्ने भएका छन् ।

त्यस्तै वडा नं १ मा बुद्धिसागर सुवेदी, वडा नं २ मा अरूण सिंह, वडा नं ९ मा राजन रानामगर, वडा नं १८ मा चिन्छु बर्मा,  डुडुवाको वडा नं ४ मा अतहर हुसेन फारुकी लगायतका नेताले घरदैलोको नेतृत्व गर्दैछन् । 

जसपा बाँकेका अध्यक्ष राईका अनुसार सबै वडामा विहान १० बजेदेखि घरदैलो सुरु हुनेछ। यो घरदैलो कार्यक्रमलाई अभियानकैरूपमा लैजाने जसपाको तयारी छ । भोलिदेखि हुने घरदैलो यही १८ गतेसम्म गर्ने जसपाको कार्यतालिका तय भएको छ ।

क्षेत्र नं २ बाट जसपाका उम्मेदवार इश्तियाक राईले आफूहरूले गरेका कामहरू जनतामाझ संगठितरूपमा प्रष्ट पार्न घरदैलोलाई अभियानकैरूपमा लैजाने बताउनुभयो । ‘यो घरदैलो जनतामाझ फैलाइएका भ्रम चिर्ने र आफ्ना कार्यक्रमहरू राख्ने अभियान हो । प्रारम्भिकरूपमा साताव्यापी कार्यक्रम बनाइएको हो, हामी योभन्दा अघि पनि जनतामाझ नै थियौं । आउँदा दिनमा  पनि जनताको घरदैलोमै हुन्छौं’, राईले भने, ‘विकास र सामाजिक एकतामा कुनै दृष्टि नै नभएकाहरूले छरेका भ्रम चिर्न र समाजलाई धर्म–सम्प्रदायका नाममा विभाजन गर्न खोज्नेहरूलाई नाकाम पार्ने यो घरदैलो अभियानको मुख्य उद्देश्य हो ।’