• १३ वैशाख २०८१, बिहिबार

झाडीले ढाकिएको ‘शहीद स्मृति पार्क’ (फोटो फिचर)

blog

काठमाडौं, कात्तिक ११ गते । करोडौँ रुपियाँ खर्च गरेर निमार्ण गरिएको रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित शहीद स्मृति पार्क अहिले झाडीमा परिणत हुँदै गएको छ ।

संरक्षण र प्रवर्द्धनको अभावमा सो पार्क र त्यहाँका संरचनाहरू दिनानुदिन जीर्ण हुँदै गइरहेका हुन् । सो पार्कमा धेरैभन्दा धेरै पर्यटक भित्र्याएर पर्यटनको विकास गर्ने लक्ष्य अहिले लक्ष्यमा नै सीमित भएको छ । वनटोल महिला सामुदायिक वनको करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको सो ‘शहीद स्मृति पार्क’ अहिले झाडीले ढाकिएको छ ।


पार्कका घुम्ने स्थानमा जताततै झाडी र फोहोर हुँदा अहिले पर्यटकको आवागमन शून्य बराबर छ । पूर्व–पश्चिम लोकमार्गसँगै जोडिएको सो पार्क पिकनिक खाने, घुम्ने पर्यटकहरूका लागि नभई लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुहरूका लागि पनि एकछिन सुस्ताउने राम्रो गन्तव्य बन्ने प्रचुर सम्भावना थियो ।


त्यसैगरी, चन्द्रपुरका स्थानीयहरूलाई मर्निङ वाक गर्न, बालबच्चा घुमाउन, हरियालीमा समय बिताउन पनि पार्क महत्त्वपूर्ण हुनसक्ने स्थानीय प्रह्लाद गौतम बताउनु हुन्छ । जताततै उम्रिएको घाँस र फोहोरले गर्दा पार्कमा जान कसैको रुचि नहुने गरेको उहाँको भनाइ छ । उहाँले स्थानीयहरू यसलाई जसरी पनि संरक्षण र प्रवर्द्धन गर्नुपर्ने माग गर्दै आइरहे पनि स्थानीय सरकार मौन रहेको बताउनुभयो । गौतमले स्थानीय सरकारले विगत पाँच वर्षमा पार्कका लागि जम्मा पाँच लाख रुपियाँ बजेट छुट्याएको बताउनुभयो ।


सो पार्कमा हाल शहीद स्तम्भ, ४ वटा पोखरी, चिल्ड्रेन पार्क, चौतारा लगायतका संरचनाहरू रहेका छन् । पार्कभित्र रहेको पोखरी अहिले झाडीले पुरिएको छ । सो पोखरीलाई सफा गरेर माछा पालनसँगै डुङ्गा सञ्चालन गर्नसके पर्यटकको आकर्षण बढ्नसक्ने स्थानीयहरू बताउँछन् ।


निमार्ण अवधिदेखि नै पार्कको स्वामित्वमा विवाद आइरहेको छ । सो पार्कको व्यवस्थापन हाल शहीद स्मृति पार्क व्यवस्थापन समितिले गर्दै आइरहेको छ । तर वनटोल महिला सामुदायिक वन उपभोक्ता समूहले भने आफ्नो वन क्षेत्रमा पर्ने भएकाले आफूहरूको त्यसमा निर्विवाद स्वामित्व हुनुपर्ने दाबी गर्नुहुन्छ वनटोल महिला सामुदायिक वनकी अध्यक्ष खड्ग बोम्जन । उहाँले पार्क वन क्षेत्रमा पर्ने भएकाले सामुदायिक वनको स्वामित्व हुनुपर्ने बताउनुभयो । 


कोरोनाकालमा सो पार्कमा रहेका संरचनाहरूलाई थपघट गरेर आइसोलेसन निमार्ण गरिएको थियो । पार्कमा सुरुवाती लगानी बाहेक हालसम्म राज्यका कुनकुन निकायको के कति लगानी भइसकेको छ भने स्पष्ट तथ्याङ्क कसैसँग पनि छैन । केही व्यक्ति र समूहले सो पार्क देखाएर बजेट ल्याउने र खाने भाँडो बनाउने माध्यम बनेको स्थानीयको आरोप छ । यता स्थानीय सरकार भने स्वामित्वको विवादले गर्दा आफूहरूले त्यसमा चाहेर पनि केही गर्न नसकेको बाध्यता रहेको बताउँछ । चन्द्रपुर २ का अध्यक्ष दुक्तबहादुर थिङ पार्क कसको स्वामित्वमा रहने भन्ने विवादका कारण कुनै पनि काम हुन नसकेको बताउनु भयो ।


बढ्दो सहरीकरणसँगै चन्द्रनिगाहपुर आसपासमा बिस्तारै खुला हरियाली स्थानको कमी हुँदै गइरहेको छ । राज्यको करौडौं लगानी भइसकेको सो पार्कलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नसके पर्यटकीय स्थलसँगै चन्द्रनिगाहपुरवासीका लागि खुला स्थलको उत्तम विकल्प पनि बन्नसक्ने देखिन्छ । यसका लागि सरोकारवाला सबैको ध्यान जानु अत्यावश्यक देखिएको छ ।