• ६ वैशाख २०८१, बिहिबार

पर्यटकलाई लोभ्याउँदै पाल्पाको तालपोखरा (फोटो फिचर)

blog

पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य । तस्बिर : न्यूज एजेन्सी नेपाल

पाल्पा, कात्तिक ११ गते । पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा यतिबेला पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ । बिदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा पुग्ने जो कोहीको रोजाइमा परेसँगै तालपोखरामा पुग्ने पर्यटकको सङ्ख्यमा समेत वृद्धि हुँदै जान थालेको हो ।


फेवा तालको भल्को मेटाउने तालपोखरा दुई दशक अगाडिसम्म सानो पोखरीमा सीमित थियो । तालपोखरालाई क्षेत्र विस्तार गरी कास्कीको फेवा तालको स्वरूप र शैलीमा पूर्वाधार निर्माण गरिएसँगै यतिबेला तालपोखरामा जाने पर्यटकको उल्लेख्य वृद्धि हुन थालेको छ ।

तालपोखरालाई लुम्बिनी प्रदेश सरकारले एक सय पर्यटकीय गन्तव्य स्थलका रूपमा घोषणा गरेपछि पर्यटकको चहलपहल अझ बढेको स्थानीयहरूको भनाइ छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरलेसमेत दाहिने परेको यस तालमा पाल्पासहित छिमेकी जिल्लाहरू रुपन्देही, स्याङ्जा, तनहुँ , पूर्वी नवलपरासी लगायतका जिल्लाहरूबाट अवलोकनका लागि पर्यटकहरू पुग्ने गरेको बताउनुहुन्छ आन्तरिक पर्यटक सागर भुसाल । तालपोखराको अझै प्रचार हुनसके धेरै पर्यटकहरू लोभ्याउने उहाँको भनाइ छ ।

स्थानीय नगर सरकारलेसमेत पर्यटन प्रवर्द्धनका लागि ढुङ्गा दौड प्रतियोगिता समय समयमा सञ्चालन  गर्दै आएको छ । तीन वर्ष कोभिड १९ का कारण थला परेको पर्यटन व्यवसाय पछिल्लो समयमा सर्वसाधारणलाई खुला गरिएपछि आन्तरिक पर्यटकको मुख्य रोजाइमा तालपोखरा परेको व्यवस्थापन समितिका सचिव सुनिल देवकोटा बताउनु हुन्छ ।

तीन तहकै सरकार र पर्यटन बोर्डलेसमेत अबका दिनमा हातेमालो गरेर अगाडि बढेको खण्डमा विदेशी पर्यटकको अध्ययन र अवलोकनको मुख्य गन्तव्य ताल पोखरा बन्ने सचिव देवकोटाको  भनाइ छ । उहाँले तालपोखराले विदेशी मुद्रालाई सहज ढङ्गबाट स्वदेशमा भित्र्याउन टेवा पुर्‍याउने बताउनुभयो ।