• १२ वैशाख २०८१, बुधबार

उम्मेद्वार सिटौला मतदाताको घर आँगनमा

blog

विष्णुप्रसाद पोखरेल

दमक, कार्तिक ११ गते । नेपाली काँग्रेसका नेता एवं झापाको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार कृष्णप्रसाद सिटौला मतदाताको घर आँगनमा पुगेर स्थानीयका समस्या सुन्दै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सिटौला आफ्नो निर्वाचन क्षेत्रमा मतदाताको घरघरमा पुगेर मत माग्दै आफूहरुको एजेण्डाको विषयमा पनि स्थानीयलाई जानकारी गराउन थाल्नुभएको हो । अघिल्लो निर्वाचनमा सिटौला मतदातासम्म नपुगेको गुनासो रहँदै आएको थियो । 

मतदाताहरु धेरै नै सचेत बन्नुभएको पाएको छु, सिटौलाले भन्नुभयो ।  अघिल्लो निर्वाचनमा पराजय भोग्नुभएका सिटौला यो पटक गुनासो मेटाउँदै मतदाताको घरआँगनमा नै पुगिरहनुभएको र उहाँ घरआँगन पुग्दा नागरिकहरुमा धेरै नै उत्साह देखिएको स्थानीय काँग्रेस नेताहरुको भनाइ  छ । 

सिटौलाको चुनावी प्रतिस्पर्धी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन रहेको स्थानीयहरु बताउँछन् । गठबन्धनबाट सिटौला र एमालेको तालमेलबाट लिङ्देन प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहनुभएको छ । एमालेबाट विद्रोह गरेर डम्बर गिरीले स्वतन्त्रबाट उम्मेद्वारी दिएपछि यहाँको राजनीतिक माहोल तातेको छ ।

सिटौलाले यो क्षेत्रमा परिवर्तनलाई संस्थागत गर्ने पक्ष र परिवर्तन विरोधी पक्षबीचको निर्वाचन जस्तै भएको विभिन्न ठाउँमा बताउँदै आउनुभएको छ । उहाँले जनताले परिवर्तनको पक्षमा मत जाहेर गर्नेमा विश्वस्त छु सिटौला भन्नुहुन्छ । जनताको अभिमत सही ठाउँमा जान्छ भन्ने मलाई लाग्छ, सिटौलाको भनाइ छ ।