• ६ वैशाख २०८१, बिहिबार

सयपत्रीका फूलमाला स्वास्थ्यका लागि पनि फाइदाजनक

blog

काठमाडौं, कात्तिक ११ गते । तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीकासँगै मखमली, सयपत्री र गोदावरीको माला लगाइदिने चलन रहिआएको छ । ठूलठूला थुँगासहितको सयपत्रीका माला अन्य मालाभन्दा आकर्षक देखिने गर्छ । भाइटीकामा मात्रै होइन, तिहारमा लक्ष्मीपूजा, कुकुरपूजा, गाईपूजा, गोवर्धनपूजामा पनि सयपत्री फूलको प्रयोग गरिन्छ । त्यस्तै घर कार्यालयमा शुभ कार्य गर्दा होस् वा कार्यालय वा घर सजाउन पनि सयपत्रीको माला प्रयोग गरिन्छ ।

आकर्षक देखिने भएकाले यसको माग अन्य फूलहरुभन्दा बढी नै हुनेगर्छ । सयपत्री फूलको माला लगाउँदा जति सुन्दर देखिन्छ, यसको प्रयोग स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायी हुन्छ । आयुर्वेद चिकित्सक डा. प्रकाश ज्ञवाली सयपत्री फूलमा औषधिजन्य गुण हुनेगरेको बताउनुहुन्छ । डा. ज्ञवालीका अनुसार सयपत्री, गन्धपुस्पमको फूलमा एन्टिइन्फालामेशन, एन्टिसेप्टिक र एन्टिअक्सिडेन्टको मात्रा हुन्छ । जसले काटेको घाउमा, सुनिएको ठाउँमा, रातो भएको ठाउँमा  सयपत्रीको रस लगाउँदा सन्चो हुन्छ ।

यसको सेवनले पेटसम्बन्धी रोग, ग्याष्ट्रिक, जन्डिस र पायल्स उपचारमा पनि प्रभावकारी मानिने उहाँ बताउनुहुन्छ । डा. ज्ञवाली फूलको रसले महिनावारी नियमित बनाउन सहयोग गर्छ भन्नुहुन्छ । 

सयपत्री फूललाई सौन्दर्य प्रशोधनका विभिन्न उत्पादन बनाउनका लागि पनि प्रयोग गरिन्छ । उहाँ भन्नुहुन्छ, “सयपत्रीको लेपले छालाको सौन्दर्य बढाउँछ, साथै छाला सम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।” सयपत्री फूललाई पिसेर लेदो बनाई वा सुकाएर धुलो बनाई चूर्णको रुपमा प्रयोग गर्न सकिन्छ । यसको सेवन गरेर हामीले विभिन्न प्रकारका स्वास्थ्य लाभ लिन सक्छौं उहाँले भन्नुभयो । 

यसको सेवनले पेटसम्बन्धी रोग, ग्याष्ट्रिक, जन्डिस र पायल्स उपचारमा पनि प्रभावकारी मानिने उहाँ बताउनुहुन्छ । डा. ज्ञवाली फूलको रसले महिनावारी नियमित बनाउन सहयोग गर्छ भन्नुहुन्छ।  उहाँका अनुसार फूलको रस  पाँच थोपा दिनको दुई पटक सेवन गर्नले स्वास्थ्यमा फाइदा पुग्छ । त्यसैगरी, चूर्ण तीन ग्राम दिनको दुई पटक सेवन गर्ने वा  आधा थुँगा फूल पाँच सय मिलिको ग्रिनटी बनाएर पिउन सकिने उहाँ बताउनुहुन्छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।