• १६ चैत २०८०, शुक्रबार

सकियो उज्यालो पर्व तिहार, छठको रौनक सुरु

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन 

काठमाडौं, कात्तिक ११ गते । यसपालिको उज्यालो पर्व तिहार सकिएको छ । हिजो (बिहीबार) भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाएर भाइटीका मनाएका थिए ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएका थिए । यसपालिको तिहारमा साढे २४ लाखभन्दा धेरै फूलमालाको कारोबार भएको फ्लोरिकल्चर एसोशिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो। यस्तै, तिहारका लागि मात्रै भनेर झण्डै ७५ करोड रुपियाँ बराबरको फलफूल आयात भएको छ ।

तिहार सकिएसँगै छठपर्वको रौनक सुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठपर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ । अहिले जनकपुरधामसहित तराई–मधेसमा छठको रौनक शुरु भएको छ । 

लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत् रूपमा आरम्भ हुन्छ।

काठमाडौं उपत्यकाका विभिन्न  पोखरी तलाउमा पनि छठपर्वको दिन छठी माताको पूजा अर्चना गरिन्छ । पर्सि आइतवार छठको मुख्य दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।