• १२ वैशाख २०८१, बुधबार

कैदीबन्दीले कारागारभित्र लगाए भाइटीका

blog

लमजुङ कारागारका कैदीबन्दी कारागारभित्रै टीका लगाउँदै । तस्बिर : बेलिना थापा

बेलिना थापा

लमजुङ, कात्तिक १० गते । लमजुङ कारागारमा विभिन्न मुद्दा अन्तर्गत कैद भुक्तान गरिरहेका तथा पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दीले कारागारभित्रै तिहार मनाएका छन् । आफ्ना दिदीबहिनीलाई भाइटीका लगाएका छन् ।

कारागारभित्रै मिठोमसिना खाएर तिहार मनाएका छन् । भाइटीकाको दिन बिहीबार पुरुष कैदीबन्दीले आफ्ना दिदीबहिनीको हातबाट सप्तरङ्गी टीका लगाएका छन् । दिदीबहिनीले दाजुभाइलाई उपहार दिएका छन् । दिदीबहिनीलाई दाजुभाइले दक्षिणा पनि दिएका छन् । टीका थाप्ने र लगाउने क्रममा कतिपय कैदीबन्दी र दिदीबहिनी भावुक भएर रोएका थिए ।

बिहानको साइत ११ बजेर ३७ मिनेटको समयदेखि कार्यालय समय साँझ ५ बजेसम्म कारागारमा टीका थाप्ने र लगाउनेको व्यवस्थापन कारागार प्रशासनले गरेको थियो । अधिकांशले टीका लगाए पनि दिदीबहिनी नआउँदा र नहुँदा कतिपयले टीका लगाउन नपाएको कारागारका प्रमुख जेलर ताराबहादुर तामाङले बताउनुभयो ।

उहाँका अनुसार अधिकांश पुरुष कैदीबन्दीले दिदीबहिनीको हातबाट सप्तरङ्गी टीका लगाएका छन् । कतिपयका टीका लगाउने दिदीबहिनी नआएको उहाँले बताउनुभयो । महिला कैदीबन्दीका आफन्तहरू भेटघाटका लागि आए पनि दाजुभाइ नआउँदा केहीको हात खाली भएको जेलर तामाङले बताउनुभयो ।

३५ जना क्षमताको लमजुङ कारागारमा १ सय ४ जना कैदीबन्दी छन् । महिला कैदीबन्दी ५ जना छन् । कैदीबन्दीलाई मूल गेटबाहिर ल्याएर दिदीबहिनीसँग भेटघाटको अवसर दिएको र टीका लगाउने व्यवस्था मिलाएको कारागार प्रमुख तामाङले बताउनुभयो । कारागार कार्यालयको सुरक्षार्थ खटिएको नेपाली सेना र नेपाल प्रहरीले कैदीबन्दीका लागि टीका लगाउने कार्यको व्यवस्थापन मिलाएको थियो । टाढाबाट दिदीबहिनीहरू आएकाले उनीहरूका लागि साँझ ५ बजेसम्म टीका लगाउने व्यवस्था मिलाएको जेलर तामाङले बताउनुभयो ।