• ८ वैशाख २०८१, शनिबार

दैलेखमा खेलिने विशेष सांस्कृतिक पर्व भोसी

blog

बिशाल सुनार

दैलेख, कात्तिक १० गते । दैलेखका केही ग्रामीण क्षेत्रमा भैलो मात्र हैन भोसी अर्थात् भास्सी खेल्ने चलन छ । एक विशेष संस्कृति भोसी खेल्ने परम्परा अझै पनि कायम छ । करिब लोपको अवस्थामा पुगेको यो संस्कृति जोगाउन अहिले युवाहरू सक्रिय भएका छन् ।

भोसी  (भास्सी)

धार्मिक तथा सांस्कृतिक रूपमा निकै महत्त्वपूर्ण भए पनि समयानुसार यो संस्कृति लोप भइरहेको छ । यसलाई केही ठाउँमा अश्लील रूपमा प्रस्तुत गर्दा संस्कृतिमा विकृति आएको कतिपय बुद्धिजीवीको भनाइ छ ।

दैलेख, जुम्ला, कालिकोट, जाजरकोट, अछाम, बझाङ आदि जिल्लाहरूमा यो खेल प्रायः खेलिन्छ । भोसीलाई कतै भुओ, कतै भोशो त कतै भस्सी पनि भन्ने गरिन्छ । आदिकालदेखि नै यस खेललाई जस्ताकोतस्तै मान्दै आइएको छ । खस सभ्यताकै उद्गम क्षेत्र मानिने दैलेखका सिगौडि, सात्तला, मालिका, रावतकोट, जारकोट, चौराठ लगायतका क्षेत्रमा भव्य रूपमा भोसीसंगै धमारी, चुट्का, मागल, भैलेरी, मारुनी, सिलिङे डाली गाउने तथा नाच्ने चलन कायमै छ । 

दैलेखको सदरमुकाम समेत रहेको नारायण नगरपालिका वडा नं. २ जारकोटमा पनि यो परम्परा आज पनि उत्तिकै महत्त्वका साथ मान्ने चलन छ  । जिल्लाका विभिन्न स्थानहरूमा भोसी खेल्ने समय फरक फरक भए पनि तिथिको हिसाबले कात्तिक कृष्णपक्षको चतुर्दशीका रातमा भोसी खेल्ने प्रचलन छ । 

स्थानीय अगुवा रणबहादुर थापाका अनुसार सज्जनहरू पनि दुर्जनहरूको सङ्गतमा लागे भने अपमानित हुनुपर्ने हुन्छ, त्यसैले सत्कर्म गरौँ भन्ने सन्देश नै भोसोले बोकेको छ । वर्ष दिनको एक पटक मात्र खेलिने खेल भएकाले पनि यस खेललाई एक दिने खेल भनिन्छ ।

पहिले महिलाले सुन्नुहुँदैन, हेर्नुहुँदैन भन्ने मान्यता भए पनि पछिल्लो समय महिला समेत भोसोमा सहभागी हुन थालेको उहाँको भनाइ छ । भासो बिसाएपछि मागल, झोडा, धमारी खेल्ने काममा महिलाको सहभागिता हुन थालेको छ । 

भोसीको कोठी सेलाई सकेपछि धमारी गाउने अर्को परम्परा रहेको स्थानीयको भनाइ छ । यस भाकाको पनि लोक संस्कृतिमा निकै महत्त्वपूर्ण स्थान रहेको मानिन्छ । बिषेशगरी विवाह, व्रतबन्ध लगायत शुभकार्यको बेलामा धमारी, चुट्किला, मागल गाउने चलन छ । तर पुस्तान्तरण चुनौतीपूर्ण बन्दैगएको प्रति अगुवाहरू चिन्तित छन् । 

संस्कृति संरक्षणका लागि केही प्रयासहरू भएका छन् । रावतकोटकै स्थानीय युवाहरू पंचकोशी पूर्व विद्यार्थी समाजको अग्रसरतामा भोसी, फड्को, मागल, झोडा, देउडाजस्ता स्थानीय धार्मिक सांस्कृतिक पर्वहरूलाई संरक्षण गर्न प्रयास थालेका छन् । 

समाजका अध्यक्ष थिरबहादुर थापा भन्नुहुन्छ ‘आधुनिकताले संस्कृति परम्पराहरू मर्न थाले त्यसैले पुनर्जीवन दिन थालेका छौ ।’ वर्ष दिनको एक पटक नाचेर वा गाएर पुरानै लय र भावलाई हुबहु उतार्न नयाँ पुस्तालाई पनि सजिलो नरहेको उहाँको भनाइ छ ।