• ७ वैशाख २०८१, शुक्रबार

अध्यक्ष ओलीद्वारा बहिनीहरुबाट भाइटीका ग्रहण

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक १० गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरूको हातबाट भाइटीका लगाउनुभएको छ । बिहीबार भाइटीकाको अवसरमा शुभ साइतमा उहाँले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका ग्रहण गर्नुभएको हो । 

ओलीले बालकोटमा भाइटीकाको शुभसाइत ११ बजेर ३७ मिनेटमा आफ्ना बहिनीहरूबाट ग्रहण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । त्यस अवसरमा उहाँले बहिनीहरूले दिएका कोसेली ग्रहण गर्दै बहिनीहरूलाई पनि सप्तरङ्गी टीका लगाई दिनुभयो । 

यम पञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा वास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, आरोग्य एवं दीर्घायुको कामना गर्ने गरिन्छ । 

टीका ग्रहणपछि सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा अध्यक्ष ओलीले भाइटीकाले दिदिबहिनीहरुसँग मिल्ने अवसर जुराएको बताउनुभयो । हरेक चाडपर्वको महत्त्व फरक फरक हुने भन्दै चाडपर्वको संरक्षण र संवर्द्धन गर्न जरुरी रहेको बताउनुभयो । हजारौँ वर्ष लगाएर संरक्षण गरिएका चाडपर्व र इतिहासलाई सबै नेपालीले संरक्षित गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । 


उहाँले भन्नुभयो, ‘हाम्रा चाडपर्व अत्यन्त महत्त्वपूर्ण छन् । मलाई पनि विभिन्न ठाउँबाट मेरा दिदिबहिनीहरु आएर टीका लगाइदिनुभएको छ । मैले पनि टीका लगाइदिएको छु । आज भाइटीकाको दिन हुँदैन थियो भने दिदिबहिनीहरुसँग यस्तो भेटघाट हुँदैन थियो । यो भेटघाट भाइटीकाको कारणले सम्भव भयो ।’ 

हाम्रा संस्कृति, सभ्ययता इतिहास संरक्षण गर्न जरुरी भएको अध्यक्ष ओलीले बताउनुभयो । अध्यक्ष ओलीले नेपाली चाडपर्वहरू महत्त्वपूर्ण र विशेषताहरूले भरिएको भन्दै यसको संरक्षणमा जुट्न पनि सबैमा आह्वान गर्नुभयो ।