पाठ्यक्रममा विपद् व्यवस्थापनको खाँचो

devi p acharyaडा. देवीप्रसाद आचार्य
 

 

विद्यार्थीको समग्र विकासका लागि आवश्यक पर्ने ज्ञान, सीप र अनुभवको विस्तृत योजना नै पाठ्यक्रम हो ।  पाठ्यक्रमको अर्थ व्यापक हुने भएकाले फरक मत पाइन्छ ।  शिक्षा शब्दकोशमा पाठ्यक्रमलाई उद्देश्य, लक्ष्य, विषयवस्तु, प्रक्रिया, स्रोत र मूल्याङ्कनको साधन हो भनिएको छ ।  पाठ्यक्रमलाई युनेस्कोले शिक्षाको उद्देश्य प्राप्तिका लागि विद्यालय तथा शिक्षकद्वारा विद्यार्थीका लागि तयार गरिएको योजना र निर्देशनअनुसारको सम्पूर्ण अनुभवको सँगालो हो भनेको छ ।  राष्ट्रिय शिक्षा पद्धति योजना २०२८ का अनुसार पाठ्यक्रम शिक्षाको उद्देश्य प्राप्तिका लागि बनाइएको शैक्षिक कार्यक्रम हो ।
यसैगरी पाठक्रमलाई शिक्षाविद् क्रो एण्ड क्रोले शैक्षिक कार्यक्रम पूरा गर्न विकासात्मक, संवेगात्मक, सामाजिक, आध्यात्मिक र नैतिक साधनका रूपमा विद्यालय भित्र र बाहिर हुने सिकाइका अनुभव समावेश गरिएको शैक्षिक कार्यक्रम हो, भने ।  पाठ्यक्रमविद् हिल्टा टावाकाअनुसार विद्यालयभित्र र बाहिर विद्यार्थीमा ऐच्छिक उपलब्धि प्राप्त गराउन विद्यालयद्वारा गरिने सम्पूर्ण प्रयासलाई पाठ्यक्रम भनिएको छ ।  त्यसो त फ्रोवेलले पाठ्यक्रमलाई मानव जातिको सम्पूर्ण ज्ञान तथा अनुभवको सारको रूपमा लिनु पर्छ भन्ने धारणा राखेका छन् ।
पाठ्क्रमलाई विद्वान् कनिङ्घमले कलाकार (शिक्षक) को हातको एउटा औजार हो, जसको माध्यमबाट उसले आफ्नो स्टुडियोभित्र
(विद्यालय भित्र) पदार्थहरू (विद्यार्थीलाई) आफ्नो विचारमा (लक्ष्यमा) परिवर्तित गर्छ भन्दछन् भने  शिक्षाविद् मोसेले विद्यालयको निर्देशन भित्र रहेर सिकारुले प्राप्त गर्ने सम्पूर्ण अनुभवहरू पाठ्यक्रमभित्र समावेश हुन्छन् भन्ने विचार प्रकट गरेका छन् ।   यसरी हेर्दा समग्रमा पाठ्यक्रम भन्नाले मानव जीवनका लागि आईपर्ने विभिन्न समस्या समाधान गर्नका लागि चाहिने ज्ञान, सीप र क्षमता आर्जन गर्न तयार गरिने एउटा शैक्षिक मार्गनिर्देश हो भन्ने अर्थ लाग्छ ।  
पाठ्यक्रम समग्र शैक्षिक सङ्गठन र संरचनाको स्वरूप हो ।  यो व्यवस्थित शिक्षा पद्धतिको प्रभावकारी कार्यान्वयन र उद्देश्य प्राप्तिको गोरेटो हो ।  पाठ्यक्रम निर्माण गर्दा कुनै पनि देशको समसामयिक समाज, भौगोलिक बनोट, सांस्कृतिक परम्परा, आर्थिक विकास, समाजको आवश्यकता, लगायतका तìवले प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पारेका हुन्छन् ।  संसारमा ज्ञानको भण्डार असीमित भएकोले यही ज्ञानको भण्डारबाट शैक्षिक कार्यक्रमअन्तर्गत कुन तहका विद्यार्थीलाई केकस्ता ज्ञानहरू दिने भन्ने योजनाअन्तर्गत पाठ्क्रम निर्माण गरिएको हुन्छ ।  
हाम्रो देशको सन्दर्भमा विभिन्न समयमा पाठ्यक्रमको विकासका प्रयास भएका छन् ।  राजनीतिक र सामाजिक  परिवर्तनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका सामाजिक, आर्थिक, सांस्कृतिक, विज्ञान तथा प्रविधिका क्षेत्रमा भएका परिवर्तन र विकासले कुनै न कुनै रूपमा प्रभाव पारेको देखिन्छ ।  अहिले हाम्रो देश तीव्र राजनीतिक परिवर्तनको दौरानमा लोकतान्त्रिक सङ्घीय राज्य प्रणालीमा प्रवेश गरेको छ ।  पाठ्यक्रमलाई समयसापेक्ष परिवर्तन गर्दै शिक्षाको राष्ट्रिय उद्देश्यमा पनि फेरबदल गर्नु पर्छ भन्ने चर्को बहस छ ।  
राज्यले तय गरेको शिक्षाको राष्ट्रिय उद्देश्यमा हरेक नागरिक  राष्ट्रिय परम्परा, संस्कृति एवं सामाजिक वातावरणसँंग परिचित हुनुपर्छ भनिएको छ ।  लोकतान्त्रिक मूल्य र मान्यतासँग परिचित, भाषिक व्यवहारमा सक्षम, वैज्ञानिक सुझबुझ भएका, सिर्जनशील, सहयोगी, अध्ययनशील स्वावलम्बी एवं आर्थिक विकासमा टेवा पु¥याउनसक्ने सक्षम नागरिक उत्पादन गर्नु शिक्षाको उद्देश्य हो ।  हाम्रो देशको पाठ्यक्रममा प्राकृतिक प्रकोप र विपद्को विषयलाई समावेश गरेको पाइँदैन ।  हाम्रो जस्तो प्राकृतिक प्रकोपको जोखिम भएको देशका नागरिकहरूले प्राकृतिक विपद्सम्बन्धी ज्ञान र यसबाट सुरक्षित र संरक्षित हुनसक्ने उपाय जान्न आवश्यक हुन्छ ।  
नेपाल प्राकृतिक प्रकोपले अत्यन्तै जोखिम भएको मुलुक हो ।  यहाँको भौगोलिक बनोट, हिमाल, पहाड र तराईमा आ–आफ्नै भूवनोटका साथै गुण र अवगुण छन् ।  हिमालमा अत्यन्त जाडो हुन्छ ।  हिम पहिरोको जोखिम छ ।  समुद्र सतहको ५ हजार मिटरभन्दा माथि मानिसको बसोवास छैन ।  ३ हजारदेखि पाँच हजार मिटरको उचाइमा हिउँदमा हिउँ पर्छ ।  सिरेटो चल्छ ।  तसर्थ यस क्षेत्रमा बस्ने नागरिकले हिमपात, हिम पहिरो  र सिरेटोसम्बन्धी ज्ञानका साथै यी प्रकोपबाट सुरक्षित हुनसक्ने सक्ने उपायको ज्ञान र सीपलाई विद्यालय तहदेखि नै पाठ्यक्रममा समेट्न आवश्यक ठानिन्छ ।  
हिमालदेखि दक्षिणतर्फ र तराईदेखि माथिको ६८ प्रतिशतको भूभाग पहाडि क्षेत्रले ओगटेको छ ।  एकातिर वर्षयाममा यस क्षेत्रमा प्रत्येक वर्ष पहिरोले हजारौँ मानिसको ज्यान जाने गरेको छ भने अर्कोतिर किसानका धानका फाँट र मकैबारी पुरिने गरेका छन् ।  पहाडि क्षेत्रका राजमार्ग बेला बेलामा पहिरोको कारणले बन्द हुने गर्छन् ।  यात्रा गर्दा गर्दै पहिरोमा परेर ज्यान गएका घटना आउने गरेका छन् ।  भूक्षयको ठूलो जोखिम छ ।  प्रकृति र मानिसको बीचमा गहिरो सम्बन्ध हँुदाहुँदै ज्ञानको अभावले प्राकृतिक प्रकोपमा मानिसले ज्यान गुमाउन परिरहेको अवस्था छ ।  यस सन्दर्भमा फ्रोवेलले भनेजस्तो मानव जातिको सम्पूर्ण ज्ञान तथा अनुभवको सारको रूपमा पाठ्यक्रमलाई लिने हो भने प्राकृतिक विपद्को ज्ञान र रोगथाम गर्ने उपाय शिक्षाको पाठ्यक्रममा समेट्नु आवश्यक हुन्छ ।  
प्राकृतिक विपद्को न्यूनीकरण र रोगथामका लागि विद्यालयदेखि उच्च शिक्षासम्मका शिक्षार्थीलाई कक्षा कोठाबाट बाहिर निकालेर भौगोलिक क्षेत्रको अध्ययन, अध्यापन र सम्भावित खतरा तथा यसका निराकरणको उपाय सिकाउनु पर्छ ।  वृक्षारोपण गर्ने र विरुवा हुर्काउने काममा  विद्यालय तहदेखिका विद्यार्थीलाई दिन सकिन्छ ।  शिक्षालयमा सिकेका प्राकृतिक प्रकोपबाट बच्ने उपायका ज्ञानमूलक सन्देश समुदायमा सिक्ने र सिकाउने योजना र आयोजना सञ्चालन गर्न सकिन्छ ।   
यसैगरी, हाम्रो देशको उर्वर भूमि तराईका फाँटहरू प्रत्येक वर्ष बाढीले डुबानमा पर्ने, बालुवा ढुङ्गाले भरिनुका साथै डुबानले गर्दा हजारौँको सङ्ख्यामा प्रभावित परिवार थात न बास हुने गरेका छन् ।  अतिवृष्टि, अनावृष्टि र अल्पवृष्टिले पार्ने प्रभाव बढ्दो छ ।  यस सन्दर्भमा हिल्टा टावाले भनेजस्तो विद्यार्थीमा ऐच्छिक उपलब्धि प्राप्त गराउन पनि पाठ्यक्रमको आवश्यकता पर्ने भएकोले पाठ्क्रममा प्राकृतिक विपद्ले सताएको हाम्रोजस्तो देशमा विपद् व्यवस्थापनको विषयवस्तुलाई पर्याप्त रूपमा समेट्न आवश्यक देखिन्छ ।  विश्वव्यापी तापक्रम वृद्धि र यसले हाम्रो देशमा पर्न सक्ने प्रभाव तथा यसको रोकथामको बारेमा पनि पाठ्यक्रमले शिक्षार्थीलाई प्रशिक्षित गर्न आवश्यक छ ।  
नेपाल भूकम्पको उच्च जोखिममा पर्ने देशमध्येमा पर्छ ।  २०७२ सालमा आएको महाभूकम्पले ठूलो धनजनको क्षति भयो ।  हजारांँ मानिसले ज्यान गुमाए ।  अपाङ्ग भए, लाखौँको सङ्ख्यामा घरवार विहीन भए ।  नागरिक भूकम्पसम्बन्धी ज्ञानबाट प्रशिक्षित नहुनाले धेरै नै क्षति व्यहोर्नु परेको भूकम्पशास्त्रीको ठहर छ ।  भूकम्प मानिसले रोक्न नसक्ने प्राकृतिक विपद् भए पनि यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्नसक्ने थुप्रै उपाय छन् जो पाठ्यक्रममा समेटिन सकेका छैनन् ।  
हाम्रो देशको पाठ्यक्रममा भूकम्पसम्बन्धी ज्ञान र विषयवस्तुको  खाँचो छ ।  नागरिकमा भूकम्प आउनुभन्दा अगाडि, आइरहेको अवस्थामा र आइसकेपछि केकस्ता उपाय अपनाउनु पर्छ भन्ने ज्ञानको अभाव छ ।   ठूलो भूकम्प गएपछि सयौँको सङ्ख्यामा आउने पराकम्पनको बारेमा ज्ञान नहुनाले विगतको महाभूकम्प पछाडि समाजले मनोवैज्ञानिक पीडा भोग्नु प¥यो ।  त्यसकारण हाम्रो देशमा विद्यालयतहदेखि नै पाठ्यक्रम र पाठ्यपुस्तकमा  भूकम्पको भूगर्भीय संरचना, भूकम्प आउने कारण, भूकम्प अगाडि र आइसकेपछि अपनाउनु पर्ने सुरक्षा विधि, यसबाट पर्ने भौतिक र मनोवैज्ञानिक असर, यसको व्यवस्थापन, आपसी सहयोगको आवश्यकता लगायतका संचनात्मक र व्यावहारिक ज्ञानको विषयवस्तुलाई समावेश गर्न आवश्यक छ ।  
विभिन्न प्राकृतिक प्रकोप भइरहने विकसित मलुकका नागरिक पनि यसबाट मुक्त  छैनन् ।  तथापि प्राकृतिक  प्रकोपको बारेमा पूर्व ज्ञान भएमा त्यसबाट बच्न सकिन्छ ।  क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ ।  तसर्थ अबको पाठ्यक्रममा हाम्रो देशको भौगालिक बनोट, हावा, पानी, बाढी, पहिरो, भूक्षय, आगजनी, नदी कटान, भूकम्प, हिमपात, सिरेटो, लु लगायतका  प्राकृतिक विपद्को गहिरो अध्ययन र यी प्रकोपबाट बँच्नसक्ने उपायको ज्ञान र सीपलाई पाठ्यक्रममा समावेश गर्न  जरुरी छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना