• १६ चैत २०८०, शुक्रबार

तनहुँ जलविद्युत् आयोजनाको काम ३५ प्रतिशत सम्पन्न

blog

तनहुँ जलविद्युत आयोजना

तनहुँ, कात्तिक १० गते । १४० मेगावाट क्षमताको निर्माणाधीन तनहुँ जलविद्युत्  आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भएको भएको छ । निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले तनहुँ जलविद्युत आयोजनाको काम तीव्र रूपमा भइरहेको आयोजनाका निमित्त प्रमुख राजभाई शिल्पकारले जानकारी दिनुभयो । 
हाल आयोजनाको प्याकेज एक अन्तर्गत डाइभर्सन टनेल (पानी फर्काउने सुरुङ) को काम चलिरहेको छ । उक्त प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ। प्याकेज दुई अन्तर्गतको विद्युत् गृह खन्ने काम सकिएको छ । आयोजना प्रमुख शिल्पकारका अनुसार पानी फाल्ने काम पनि सम्पन्न भएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो मेकानीकल तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ । सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाई भएको भूमिगृत विद्यृत्गृहको सुरुङ खन्ने काम सकेको आयोजनाले जनाएको छ । अब सुरुङभित्र पूर्वाधार निर्माणको काम शनिवार देखि सुरु गरिएको शिल्पाकारले जानकारी दिनुभयो ।  आयोजनाको काम दुई वर्ष अघि सुरु भएको हो ।
आयोजनाका अनुसार  पानी ल्याउने सुरुङको काम भइरहेको छ । एक हजार चार सय ५० मिटर सुरुङ खन्नुपर्नेमा अहिलेसम्म तीन सय ५० मिटर खनिसकिएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सर्च ट्र्याक जाने पहुँच सुरुङ खन्ने काम पनि सम्पन्न भइसकेको छ । सिनो हाइड्रो कम्पनीले ४३७.१ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरेको थियो । त्यस्तै २८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँध स्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ पनि सम्पन्न भइसकेको छ ।
  प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माणका लागि २५ वटा टावर निर्माण सम्पन्न भएको छ । त्यस्तै हालसम्म ४८ वटा फाउन्डेसनको कार्य सम्पन्न भएको छ । यो प्याकेजको काम भारतीय कम्पनी केइसीले पाएको छ । प्रसारण लाइन निर्माणका लागि टावर राख्ने जग्गामध्ये तनहुँतर्फको भूभाग प्राप्ति गर्नका लागि मुआब्जा वितरण भइरहेको छ भने चितवनतर्फको जग्गा अधिग्रहण गर्ने प्रक्रिया चलिरहेको छ । दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछ । आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार-नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । 
Author

अमरराज नहर्की