• १६ चैत २०८०, शुक्रबार

चेल्सी र डर्टमन्ड नकआउट चरणमा

blog

साल्जबर्गलाई हराएपछि चेल्सीका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, कात्तिक ९ गते । इङ्लिस प्रिमियर लिग क्लब चेल्सी र जर्मन क्लब बोरुसिया डर्टमन्ड च्याम्पियनसिप लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘ई’ अन्तर्गत मङ्गलबार राति भएको खेलमा चेल्सीले आरबी साल्जबर्गलाई २-१ गोलले हरायो ।

समूह ‘जी’ को खेलमा डर्टमन्डले इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई बराबरीमा रोक्दै अन्तिम १६ मा स्थान बनाएको हो । बराबरीमा रोकिए पनि सिटी समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । डर्टमन्ड समूह उपविजेता बन्यो ।

चेल्सीको जितमा माटियो कोभासिस र काइ हार्भट्जले गोल गर्नुभयो । साल्जबर्गका जुनियर एडामुले सान्त्वना गोल फर्काउनुभयो । कोभासिसले २३औँ मिनेटमा गोल गर्दै चेल्सीको उत्साह जगाउनुभएको थियो ।

त्यसपछि ४८औँ मिनेटमा जुनियरले गोल गर्दै साल्जबर्गलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । तर ६४ औँ मिनेटमा हार्भट्जले गोल गर्दै चेल्सीलाई जिताउनुभयो । 

जितसँगै समूहको शीर्षस्थानमा रहेको चेल्सीको पाँच खेलबाट १० अङ्क पुगेको छ । ६ अङ्क बनाएको साल्जबर्ग तेस्रो स्थानमा छ । अर्को खेलमा रियल म्याड्रिड आरबी साल्जबर्गसँग ३-२ गोलले पराजित भएको छ ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले माकावी हाफियालाई ७-२, सेभियाले एफसी कोपेनहेगनलाई ३-०, एसी मिलानले डी जाग्रेबलाई ४-० र बेन्फिाकाले युभेन्ट्सलाई ४-३ गोलले पराजित गरेको छ । सेल्टक र साख्तर डोनेस्कले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । एजेन्सी