• १६ चैत २०८०, शुक्रबार

बाँके २ मा त्रिपक्षीय प्रतिस्पर्धा

blog

बाँके क्षेत्र नं. २ का उम्मेदवार मोहम्मद इस्तियाक राई, डा. धवलशम्शेर राणा र सुदीपनरसिंह राणा ।

गोविन्द शर्मा

बाँके, कात्तिक ५ गते । बाँके क्षेत्र नं. २ मा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।

सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार सुदीपनरसिंह राणा, जसपाका  उम्मेदवार पूर्व मन्त्री मोहम्मद इस्तियाक राई र राप्रपाका डा. धवलशम्सेर राणा प्रत्याशी हुनुहुन्छ ।

वि.सं. २०६४ र २०७४ मा विजयी जसपाका उम्मेदवार राई पुनः निर्वाचित हुन उम्मेदवार बन्नुभएको छ । 

वि.सं २०५४ मा नेकपा एमालेबाट र २०७४ मा राप्रपाबाट नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा विजयी डा. राणा २०५१, २०६४ र २०७० को संसदीय निर्वाचनमा भने पराजित हुनुहुन्छ । 

राणा दुई पटक नगरप्रमुख हुँदा गरेको विकास जितको आधार भएको बताउनुहुन्छ । यसपटक एमालेसँगको तालमेलले थप बल पुगेको उहाँको भनाइ छ । 

राईले २०७४ सालमा वाम गठबन्धन र काङ्ग्रेस तथा राप्रपाको गठबन्धनलाई पराजित गरेका कारण यसपटक पनि आफू विजयी हुने बताउनुहुन्छ । 

“जनताले विकास र समृद्धिको नेतृत्व गर्नेलाई संसदमा पुर्‍याउनेमा ढुक्क छु,” जसपाका उम्मेदवार राईले भन्नुभयो, “जनताले विगतमा गरेको कामलाई मूल्याङ्कन गर्नेछन् ।” 

नेपाली कांग्रेसले युवा नेता राणालाई उम्मेदवार बनाएर मत सुरक्षित बनाउने रणनीति लिएको छ । स्थानीय तहको मतको आधारमा यहाँ कांग्रेसका राणा बलियो देखिनुहुन्छ । 

वि.सं.२०७४ को निर्वाचनमा राई २१ हजार ५७५ मत प्राप्त गरी विजयी हुनुभएको थियो । 

वाम गठबन्धनबाट एमालेका पशुपतिदयाल मिश्राले १५ हजार ९५१ र नेपाली काँग्रेसको समर्थनमा राप्रपाका ओमप्रकाश आजादले ११ हजार ६२२ मत प्राप्त गर्नुभएको थियो । 

बाँके क्षेत्र नम्बर २ मा ९७ हजार ८०९ मतदाता  छन् ।