• १६ चैत २०८०, शुक्रबार

घरदैलोमा व्यस्त उम्मेदवार

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, कात्तिक ३ गते । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन मिति नजिकिएसँगै घरदैलो अभियानमा उम्मेदवार व्यस्त बन्दै गएका छन्।

प्रतिनिधि सभामा दुई र प्रदेश सभामा चार निर्वाचन क्षेत्र रहेको सिन्धुलीको निर्वाचन क्षेत्र १ मा तीन स्वतन्त्रसहित १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। यस्तै निर्वाचन क्षेत्र २ मा एक स्वतन्त्रसहित नौ उम्मेदवार चुनावी मैदानमा छन्। निर्वाचन क्षेत्र १ (क)मा पाँच जना, (ख)मा छ जना, निर्वाचन क्षेत्र २ (क)मा पाँच जना र (ख)मा छ जना चुनावी प्रतिस्पर्धामा छन्। जिल्लाका सबै निर्वाचन क्षेत्रमा मुख्य रूपमा सत्तारूढ गठबन्धन र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच नै चुनावी प्रतिस्पर्धा हुने देखिन्छ। 

निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरू मतदातासँग भोट माग्दै घरदैलो अभियानमा व्यस्त बनेका छन्। कमलामाई नगरपालिका–८, कर्करेका विजय श्रेष्ठले उम्मेदवारहरू दैनिकजसो मत माग्दै गाउँघरमा आइरहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “सबै उम्मेदवारले जनताका जीविका सहज बनाउनेदेखि विकास निर्माणको कुरा गरेर मतदातालाई आश्वस्त बनाउने काम गरेका छन्। कसको कुरा पत्याउनु, कसको नपत्याउनु ?”

गठबन्धनबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ का उम्मेदवार नेकपा (माओवादी केन्द्र)का लेखनाथ दाहालले संविधानको रक्षा, अग्रगमन, राजनीतिक स्थायित्व, शान्ति, सामाजिक न्यायसहितको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी भएको गोरखापत्रसँग बताउनुभयो। उहाँले भन्नुभयो, “जनताले जे आवश्यकता महसुस गरेका छन्, तिनै आवश्यकतालाई सम्बोधन गर्ने प्रक्रिया अघि बढाउने गरी विकासका एजेन्डा लिएर जानेछु।”

निर्वाचन क्षेत्र २ मा नेकपा (एमाले)का उम्मेदवार मनोजजङ्ग थापाले आफ्नो नामको अगाडि माननीय लेख्न नभई जनताको सेवा गर्न निर्वाचनमा होमिएको बताउनुभयो। उहाँले आफू अहिले कार्यकर्ता भेटघाट, पार्टीका विभिन्न कमिटीको बैठक र कोणसभामा व्यस्त रहेको जानकारी दिनुभयो।

विगतका जनप्रतिनिधिले जनतालाई विभिन्न आश्वासन दिएर झुक्याएको बताउँदै एमाले उम्मेदवार थापाले अब नझुक्किन र नेतालाई पनि जनता नझुक्याउन आग्रह गर्नुभयो। जनतालाई पूरा गर्न सक्ने मात्रै सपना देखाउनुपर्ने र बोलेका कुरा पूरा गरेर मात्रै अर्को निर्वाचनमा आउनुपर्ने उहाँले बताउनुभयो।