• १६ चैत २०८०, शुक्रबार

निर्वाचन प्रचारका ब्यानर तत्काल हटाउन आग्रह

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ३१ गते । निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसारका लागि टाँगिएका ब्यानर तत्काल हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीलाई आयोगले निर्देश गरेको छ । सोमवार देशभरका प्रमुख जिल्ला अधिकारीसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले सो निर्देशन दिनुभएको हो ।

उम्मेदवारले विभिन्न स्थानमा ब्यानर टाँगेर प्रचार प्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न आयोगका सचिव दुवाडीले आग्रह गर्नुभयो । ब्यानरको दुरुपयोग भइरहेकाले सम्बन्धित उम्मेदवारलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभयो । 

सम्बन्धित उम्मेदवारले ब्यानर आफूले टाँगेको हो भनी स्वीकार नगरेको खण्डमा जुन निर्वाचन चिन्हको प्रयोग भएको छ सोही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहितामा उल्लेख भएकाले सोहीअनुरूप काम गर्न पनि आग्रह गर्नुभयो । 

त्यस्तै, कुनै पनि बहानामा भोजभतेर गराउन नपाइने पनि उहाँले बताउनुभयो । खेलकुद, पुरस्कार वितरण लगायतका कार्यक्रममा राजनीतिक आबद्धता देखाउनु नहुने पनि सचिव दुवाडीले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘कुरा उठ्यो, तुल, ब्यानर लगायतका कुराहरू व्यापक रूपमा दुरुपयोग भइरहेको छ । आचारसंहिता उल्लङ्घन भइरहेको छ । यसमा सम्बन्धित उम्मेदवारलाई तत्काल हटाउन निर्देशन दिन भनेका हौँ ।”

सचिव दुवाडीले सरकारी कर्मचारीले कुनै पनि उम्मेदवारको पक्ष अथवा विपक्षमा मत जाहेर गर्न नपाउने आचारसंहितामा व्यवस्था भएको बताउनुभयो । सम्बन्धित कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराउँदा पनि आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई कारबाही नभएमा प्रमुख जिल्ला अधिकारीले कारबाही गर्नसक्ने उहाँको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारीलाई अप्ठ्यारो परेको खण्डमा निर्वाचन आयोगमा सम्पर्क गर्न पनि उहाँले अनुरोध गर्नुभयो । उहाँले थप्नुभयो, ‘कुनै पनि कर्मचारीले उम्मेदवारको पक्ष, विपक्षमा मत जाहेर गर्न, लाइक, कमेन्ट, सेयर गर्न पाइँदैन भनेर निर्णय पनि गरिसकेको  छ । विज्ञप्तिमार्फत जानकारी पनि गराइसकेको छ ।’ 

स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षाको काम गर्न पनि सचिव दुवाडीले आग्रह गर्नुभयो । जिल्लामा प्रमुख जिल्ला अधिकारीको सहभागितामा मतदाता शिक्षा जिल्लास्तरीय समितिको व्यवस्था भएको र सोही समिति अन्तर्गत मतदाता शिक्षाको काम अगाडि बढाउनुपर्ने उहाँको सुझाव छ । कर्मचारीलाई निर्वाचनमा स्वच्छता कायम गराउन चुकेको आरोप लाग्नेगरेको भन्दै उहाँले त्यस्तो आरोपबाट मुक्त हुनेगरी काम गर्न सुझाव दिनुभयो । 

कसैले निर्वाचनमा खलल पुग्नेखालको गतिविधि गरेमा कानुनी अधिकार प्रयोग गरी नियन्त्रण गर्न र कारबाहीको दायरामा ल्याउन पनि उहाँले निर्देशन दिनुभयो ।