• १६ चैत २०८०, शुक्रबार

१६ वर्षीय कैनीले बनाउनुभयो, विद्युतीय मोटरसाइकल

blog

अविनाश चौधरी

धनगढी, असोज ३१ गते । कैलालीको धनगढी उपमहानगरपालिका–५ जाइँका १६ वर्षीय सोहन कैनीले विद्युतीय मोटरसाइकल निर्माण गर्नुभएको छ ।

धनगढीको ऐश्वर्य विद्या निकेतनस्थित ११ कक्षामा अध्ययनरत उहाँले दुई महिना समय लगाएर विद्युतीय मोटरसाइकल निर्माण गर्नुभएको हो । डेढ लाख रुपियाँ लागतमा आफूले इलेक्ट्रिक मोटरसाइकल निर्माण गरेको कैनीले बताउनुभयो ।

‘‘यस्ता नयाँ–नयाँ प्रविधिको आविष्कार गर्ने चाहना भएकाले मैले इलेक्ट्रिक मोटरसाइकल बनाएको हुँ’, उहाँले भन्नुभयो, ‘‘मोटरसाइकलमा पावर ब्याङ्कको सहयोगबाट फिङ्गर प्रिन्ट पनि राखिएको छ ।’’

उहाँले बनाएको मोटरसाइकल चलाउनका लागि फिङ्गर प्रिन्ट र चाबी दुवै आवश्यक पर्ने छ । मोटरसाइकलमा १२ भोल्टेजका चार वटा ब्याट्री राखिएका छन् । ब्याट्री पूर्ण चार्ज भएमा ६० देखि ७० किलोमिटरसम्म मोटरसाइकल चल्ने कैनीले जनाउनुभयो । युट्युबमा भिडियो हेरेर आफू इलेक्ट्रिक मोटरसाइकल बनाउनका लागि प्रेरित भएको उहाँको भनाइ  छ ।

कैनीले बनाएको इलेक्ट्रिक मोटरसाइकल सोमबार धनगढी उपमहानगरपालिकाको कार्यालयमा प्रदर्शन गरिएको छ । नगर प्रमुख गोपाल हमालले विद्युतीय मोटरसाइकल बनाएकोप्रति खुसी व्यक्त गर्दै कैनीलाई बधाई ज्ञापन गर्नुभयो ।