• १३ वैशाख २०८१, बिहिबार

जयरानीको हिटमा कीर्तिमान

blog

एक सय मिटर हर्डल्स्मा स्वर्ण जितेपछि नेपाली सेनाकी जयरानी थारु । तस्बिर : विकास द्वारे

गोरखापत्र समाचारदाता

पोखरा, असोज ३१ ग्ते । महिला एक सय मिटर हर्डल्स्मा नेपाली सेनाकी जयरानी थारुले स्वर्णपदक प्राप्त गर्नुभयो । जयरानीले फाइनलमा मात्र होइन यस इभेन्टको हिट चरणमा पनि गौरव हासिल गर्नुभयो । हिट चरण १५.१६ सेकेन्डमा पूरा गरेर जयरानीले राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो ।

उहाँले आफ्नै नाममा रहेको १५.२० सेकेन्डको कीर्तिमानमा सुधार गर्नुभएको हो । जयरानीले फाइनलमा स्वर्णपदक जित्न भने १५.६९ सेकेन्डको समय लिनुभयो । नेपाली सेनाकै निर्मला थापाले १६.२५ सेकेन्ड समय निकालेर रजत तथा एपीएफकी भगीरती कुमारी थारुले १९.१३ सेकेन्डको समयमा पूरा गरेर कांस्य पदक हात पार्नुभयो । 

जयरानीको नवौँ राष्ट्रिय खेलकुदमा यो दोस्रो स्वर्णपदक हो । एक दिनअघि चार समय मिटर हर्डल्समा पनि आफैले राखेको राष्ट्रिय कीर्तिमान भड्ग गरेर जयरानीले स्वर्णपदक जित्नुभएको थियो ।

यसैगरी ११० मिटर पुरुष हर्डल्समा पनि नेपाली सेनाकै जीवन चौधरीले स्वर्णपदक जित्नुभयो । चौधरीले निर्धारित दुरी १५.०३ सेकेन्डमा पूरा गर्नुभयो पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डसहित रजत पदक तथा सेनाका राम प्रसाद थारुले १६.०० सेकेन्डको समयमा पूरा गरी कांस्य पदक हात पार्नुभयो । 

जीवनले स्वर्ण पदकपछि कीर्तिमान बनाउने सोचाइ भने पूरा नभएको बताउनुभयो । बर्दियाका जीवनले सातौँ र आठौँमा पनि स्वर्णपदक जितेको र स्वर्णको ह्याट्रिक गर्न सकेकोमा खुसी व्यक्त गर्नुभयो ।

डिसकस थ्रोमा ओली र अधिकारी सफल

डिस्कस थ्रोमा नेपाली सेनाका चित्रबहादुर ओलीले ३८.४८ मिटरको दूरी फ्याल्दै स्वर्णपदक हात पार्नुभयो । नेपाल पुलिस क्लबका पुस्कल खड्काले ३२.७५ मिटरसहित रजत पदक र सुदूरपश्चिमका हेमन्त पाल ३१.१० मिटर फालेर कांस्य पदक जित्नुभयो ।

महिलातर्फ लुम्बिनी प्रदेशकी सङ्गीता अधिकारीले ३५.१० मिटरको दूरीसहित स्वर्णपदक प्राप्त गर्नुभयो । सो विधामा एपिएफकी जितकुमारी महतो ३३.६० मिटरसहित रजत पदक जित्नुभयो । नेपाली सेनाकी मिलन बढामगरले ३२.३५ मिटर फालेर कांस्य पदक प्राप्त गर्नुभयो ।

राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार एथलेटिक्सको ५ स्वर्णपदक निर्णय भएको हो । जसमा नेपाली सेनाले तीन तथा लुम्बिनी र कर्णाली प्रदेशले १–१ स्वर्णपदक जितेका छन् ।