• ७ वैशाख २०८१, शुक्रबार

काठमाडौं–२ का प्रतिनिधिसभा उम्मेदवार सिंहको प्रतिबद्धता

स्वच्छ पिउने पानी उपलब्ध गराउने, मेलम्चीको पूरक स्राेत खोजी गर्ने

blog

काठमाडौंको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाशमान सिंहले सार्वजनिक गर्नुभयो प्रतिबद्धता पत्र ।

काठमाडौं, असोज ३१ गते । काठमाडौंको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाशमान सिंहको सोमबार प्रतिबद्धता पत्र सार्वजनिक भएको छ । नेपाली कांग्रेसका नेता सिंहले काठमाडौंमा पत्रकार सम्मेलनमार्फत ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ भन्ने उद्देश्यका साथ आफ्नो प्रतिबद्धता एवम् भावी योजना सार्वजनिक गर्नुभएको हो ।

काठमाडौं–१ राजनीतिक दृष्टिकोणले आफ्नै विशेषता एवम् महत्त्व रहेको भन्नुहुँदै उहाँले यसअघि तीन पटकसम्म म्याण्डेट प्राप्त भएकोमा आफूले पनि इमानदारीपूर्वक आफ्नो भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।

मतदाताले पटक–पटक अवसर दिएकाले उनीहरूसँग झन्–झन् सामीप्य र आत्मविश्वास पनि बढेको र आगामी दिनमा बाँकी रहेका काम पूरा गर्न आफ्नो उम्मेदवारी फेरि पनि रहेको उहाँले प्रष्ट्याउनुभयो ।

नेता सिंहले स्वच्छ पिउने उपलब्ध गराउन हरसम्भव प्रयास गर्ने, मेलम्चीको पूरक स्रोत खोजी गर्ने, २१ औँ शताब्दी युग सुहाउँदो सुरक्षित मार्ग, सिसिटिभी क्यामरा जडित टोल, सडक, क्षेत्रवासीलाई डिजिटल प्रविधिसँग जोडिन निःशुल्क तालिम, सूचना प्रविधिको पहुँचमा वृद्धि, शून्य फोहोरमैला उत्सर्जन क्षेत्र बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निर्वाचन जितेमा प्रतिनिधिसभामा जनता र राष्ट्रको पक्षमा बुलन्द आवाज उठाउने, गत पाँच वर्षमा गर्न नसकिएका निजामती कर्मचारी र प्रहरी समायोजन, नागरिकता, शिक्षा, स्वास्थ्यसम्बन्धी विधेयकलाई समयतालिका बनाई पारित गर्न प्रयास गर्ने, दलित, सीमान्तकृत वर्ग, महिला सशक्तीकरणका लागि सीपमूलक काममा जोड दिइने जनाइएको छ ।

यससहित संविधानले प्रदान गरेका प्रदेश र स्थानीय तहका एकल अधिकारको रक्षा एवम् तिनको प्रयोगको सुनिश्चितता गर्ने लगायतका कार्यक्रममा जोड दिइने जनाइएको छ ।

सो क्षेत्रमा प्रदेशसभा सदस्य क्षेत्र १ (१) मा कांग्रेसका दीपेन्द्र श्रेष्ठ र क्षेत्र १ (२) मा सुरज चन्द्र लामिछाने उम्मेदवार हुनुहुन्छ । सिंह २०६४ सालको पहिलो संविधानसभा, २०७० सालको दोस्रो संविधानसभा, २०७४ मा काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो ।