• ७ वैशाख २०८१, शुक्रबार

सुरक्षा निकायलाई चुनावमा भूमिका निर्वाह गर्न मुख्यमन्त्री राउतको आग्रह

blog

धर्बेन्द्र झा  

धनुषा, असोज ३१ गते । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनमा सुरक्षा निकायको भूमिका महत्वपूर्ण रहेकाले इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गर्नुभएको हाे। 

६७ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय, मधेश प्रदेशले सोमबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले लोकतन्त्रको महापर्वको रुपमा रहेको यस निर्वाचनमा जनताले निर्भीकतापूर्वक मतदान गर्नुपर्ने र त्यसकालाई वातावरणको निर्माणा गरिदिने काम सुरक्षा निकायको रहेको बताउनुभयो ।

उहाँले संविधानमा दिएको अधिकारको अक्षरशः पालना गर्नु हामी सबैको दायित्व भएको भन्दै प्रदेश प्रहरी, प्रदेश सरकारको मातहतमा हुनुपर्ने माग राख्नुभयाे ।

उहाँले निर्वाचनपछि प्रहरी समायोजनको प्रक्रिया अगाडि बढ्ने अाश्वासन प्रधानमन्त्रीले दिनु भएको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, 'प्रदेशमा कानुनको शासन कायम गर्न प्रदेश प्रहरी प्रदेश सरकारको मातहतमा हुनुपर्छ ।'