• ११ वैशाख २०८१, मङ्गलबार

निर्वाचन शान्तिपूर्ण गराउन प्रहरीको प्रमुख जिम्मेवारी : प्रधानमन्त्री (भिडियोसहित )

blog

६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : कविन अधिकारी

गोरखापत्र अनलाइन
काठमाडौं, असोज ३१ गते ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचन शान्तिपूर्ण रुपमा गराउन नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहेको बताउनुभएको छ । उहाँले ऐन कानुनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन निर्देशन पनि दिनुभयो ।

सोमबार ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रहरीका सबै सङ्गठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिनुभएको छ । उहाँले सूचना प्रविधिलाई समायानुकूल परिवर्तन गरी अघि बढ्नसके मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने बताउनुभयो ।

उहाँले नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यावसायिक, स्रोेत, साधनले सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । उहाँले नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकूल सुधार गर्दै जानुपर्ने आवश्यकता रहेको पनि उल्लेख गर्नुभयो ।


उहाँले भन्नुभयो, ‘‘सूचना प्रविधिलाई समायानुकूल परिवर्तन गरी अघि बढ्नसके मात्रै कुनै पनि सङ्गठनको प्रभावकारिता हुन्छ र अपेक्षित परिणाम हासिल हुनेछ । प्रहरीका सबै सङ्गठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिन चाहन्छु ।’’

नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यावसायिक, स्रोेत, साधनले सम्पन्न बनाउन सरकार प्रतिबद्ध छ भन्दै प्रधानमन्त्रीले नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकूल सुधार गरी जान आवश्यक छ भन्नुभयो ।  उहाँले यसका लागि आवश्यक योजना अघि बढाउन गृह मन्त्रालयलाई पनि निर्देशन दिनुभयो ।

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा गराउनेबारेमा नेपाल प्रहरीको प्रमुख जिम्मेवारी हुने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘आगामी निर्वाचनमा नेपाल प्रहरीले आफ्नो मूलभूत दायित्व इमानदारीसाथ निर्वाह गर्नुपर्नेछ । ऐन, कानुनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई सम्पन्न गर्न निर्देशन दिन चाहन्छु । सीमित स्रोत, साधन, कठिनाइका बीच भएका स्रोत, साधनको प्रयोग गरी उक्त कार्यमा लाग्न निर्देशन दिन्छु ।’’

स्थानीय निर्वाचनमा नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसायोग्य छ ।  आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन, निष्पक्ष, स्वतन्त्र वातावरणमा सम्पन्न गराउनुहुनेछ भन्नेमा म विश्वस्त छु, प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले प्रहरी प्रशासनले हरेक समय नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेको भन्दै प्रहरी प्रशासनलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रहरीका महाननिरीक्षक धिरजप्रताप सिंहले सबै प्रहरी एकाइले आफ्नै भवन प्रयोग गरी बसेर सेवा दिन पाइरहेका छैनन्, अहिले पनि धेरै प्रहरी कार्यालय भाडा वा अन्य निकायका व्यक्तिको घरमा आश्रय लिँदै आएको बताउनुभयो ।

उहाँले आम नागरिकले दिनुभएको जग्गाको समुचित प्रयोग गरी निजी कार्यालय र कार्यालय स्थापनाका लागि कानुन मन्त्रालयबाट आवश्यक पहल हुने अपेक्षा गरेको उल्लेख गर्नुभयो ।


कुल ३२ सय बढी प्रहरी एकाइमार्फत सेवा प्रवाह गर्दै आएका नेपाल प्रहरी देशकै सबैभन्दा बढी नागरिकसमक्ष पहुँच भएको संस्था हो । सामाजिक सञ्जालमार्फत करिब २६ लाखभन्दा बढीसँग अभौतिकरुपमा जोडिएको जानकारी पनि उहाँले दिनुभयो । 

आर्थिक वर्ष २०७७÷०७८ को तुलनामा गतवर्ष कुल अपराध दर्ता सङ्ख्यामा ७० प्रतिशतले वृद्धि भएको छ । यद्यपि, सङ्गठित अपराधका घटनामा उल्लेख्य कमी आएको छ । आर्थिक अपराधका घटनामा केही बढोत्तरी भएको छ ।

विभिन्न अपराधमा संलग्न नेपालमा लुकेर बसेका १७ जनालाई इन्टरपोलको नै सहयोगमा कानुनी दायरमा ल्या अपराध नियन्त्रणका लागि संसारको जहाँ लुके पनि प्रहरीले छोड्नेछैन भन्ने सन्देश दिएको छ ।