सबै दलको सहमतिमा माघ ८ मा संविधान- सचिव पुन

Barsaman Punपाल्पा, मङ्सिर १७ गते । एनेकपा माओवादीका सचिव वर्षमान पुनले सत्ता साझेदारी गर्ने नाममा सत्ताधारी दलहरूले माघ ८ मा संविधान जारी नगर्ने षडयन्त्र गरेको आरोप लगाउनुभएको छ । सरकारको विषयलाई लिएर विषयान्तर गरेर संविधान जारी नगर्ने सत्ताधारी दलहरूको षडयन्त्रमा आफूहरू सतर्क रहेको भन्दै उहाँले संविधान जारी गरेपछि मात्र सहमतिको सरकार बनाउन सकिने धारणा उहाँले राख्नुभयो । 

क्रान्तिकारी पत्रकार संघ पाल्पाद्वारा बुधबार तानसेनमा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता पुनले अहिले सरकारको विषयलाई लिएर संविधान निर्माणमा षडयन्त्र भईरहेको आरोप लगाउनुभयो । सचिव पुनले सबैदलको सहमतिमै माघ ८ मा संविधान जारी हुने बताउनुभएको छ । सत्ताधारी दल एमाले कांग्रेसको दुई तिहाई मत रहे पनि सहमतिभन्दा बाहिरबाट संविधान जारी गर्न नसकिने सत्ताधारी दलहरूले बुझेकाले सहमतिमै तोकिएकै मितिमा संविधान जारी हुने उहाँले दावी गर्नुभयो ।
क्रान्तिकारी पत्रकार संघद्वारा बुधबार तानसेनमा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता पुनले प्रक्रियाबाट भन्दा सहमतिबाट संविधान जारी गर्नु अहिलेको आवश्यकता हो भन्नुभयो । विश्व परिस्थिति हेर्दा पनि सहमतिबाट भन्दा अरू प्रक्रियाबाट संविधान जारी गर्ने स्थिति नरहेको उहाँले जिकिर गर्नुभयो ।
संविधान निर्माणमा माओवादीले चाहे रोक्न सक्दो रहेछ भन्ने कुरा सबैलाई थाहा भएकाले कांग्रेस, एमाले ले पनि विगतको संविधानसभामा सहमतिबाट अघि बढ्न खोजेको स्मरण गर्नुभयो । उहाँले सत्ताधारी दल र विपक्षीहरूले पेल्न र रोक्न खोजेको बराबर भएको बताउँदै प्रक्रियामा जाने भन्ने कुरा सम्भव नरहेको बताउनुभयो ।
अब नयाँ सन्दर्भमा नयाँ कुरा आउने बताउँदै संघीय राज्यको प्रदेशको संख्यामा तलमाथि हुन सक्ने उहाँले बताउनुभयो । आफूहरूले चाहेको १० राज्य पनि तलमाथि गरेर भए पनि सहमति गरेर संविधान जारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सिद्दान्तमा बसेर बहस गरेमा एउटा निष्कर्ष निस्कन सक्छ उहाँले भन्नुभयो, पहिचान र सार्मथ्यलाई सहमतिमा लैजानुपर्ने एमाओवादीको बटमलाइन भएको सचिव पुनले बताउनुभयो ।
एउटा उत्साहमा पार्टी खोलेका नेत्रविक्रम चन्दलाई सहमतिमा संविधान जारी भएमा आफै मिल्न आउनुपर्ने बाध्यता हुने नेता पुनले दावी गर्नुभयो । ‘मोहन वैद्यजी पनि हामीसँगको कार्यगत एकताको बाटोमा आईसक्नुभएको छ’ उहाँले भन्नुभयो, कसैलाई फुटाउने होइन हामी जुटाउनेतर्फ केन्द्रित भएका छौँ । सहमतिको संविधान जारी गर्दा सबैलाई फाइदा पुग्ने र प्रतिक्रियावादीहरू आफँै पछि हट्नेसमेत उहाले बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना