• १३ वैशाख २०८१, बिहिबार

सुर्खेतका व्यवसायीद्वारा बैङ्क बहिष्कार

blog

ललित बसेल

सुर्खेत, असोज ३१ गते । सुर्खेतका उद्योगी व्यवसायी बैङ्क बहिष्कारमा उत्रिएका छन् । उद्योगी व्यवसायीले आइतबार यहाँ रहेका एक दर्जनभन्दा बढी वाणिज्य बैङ्कमा धर्नासमेत दिएका छन् । 

बैङ्कले मनोमानी ढङ्गले ब्याजदर बढाएर किस्ता तिर्न दबाब दिएको आरोप लगाउँदै व्यवसायीले आइतबार र सोमबार दुई दिन बैङ्क बहिष्कार गर्ने व्यवसायीले जनाएका हुन् । 

सुर्खेत उद्योग वाणिज्य सङ्घको नेतृत्वमा चेम्बर अफ कमर्स, निर्माण व्यवसायी एकता समाज, निजी विद्यालय सङ्गठनलगायत निजी क्षेत्रका विभिन्न सङ्घ सङ्गठनले संयुक्त सङ्घर्ष समिति गठन गरेर ब्याज वृद्धिविरुद्ध आन्दोलन थालेका हुन् । आइतबार व्यवसायीले सुर्खेतमा रहेका एक दर्जनभन्दा बढी वाणिज्य बैङ्कका कार्यालय र नेपाल राष्ट्र बैङ्कको प्रदेश कार्यालयमा धर्ना दिएका थिए । 

व्यवसायीले ब्याजदर एकल प्रतिशतमा कायम राख्नुपर्ने, धितो बन्धक लिलामी चढाइएका ऋणीको पुनर्कर्जा व्यवस्थापन गर्नुपर्ने, बैङ्कले विभिन्न शीर्षकमा लिने सेवा शुल्कलगायत कुनै पनि शुल्क लिन नहुने, किस्ता तिर्ने समय कम्तीमा छ महिना थप्नुपर्ने माग गरेका छन् । 

संयुक्त सङ्घर्ष समितिका संयोजक एवं सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले विगतमा ६–७ प्रतिशत रहेको ब्याज १७–१८ प्रतिशत पु¥याउँदा व्यवसायी तनावमा रहेको बताउनुभयो । बैङ्कले किस्ता तिर्न बारम्बार फोन गरी यातना दिन थालेपछि आफूहरू बाध्य भएर आन्दोलनमा उत्रनुपरेको उहाँले बताउनुभयो । 

उहाँले बैङ्क तथा वित्तीय संस्थाको नियमन गर्ने निकाय राष्ट्र बैङ्क पनि मौन भएर बसेकाले बैङ्कले मनोमानी रूपमा ब्याज बढाइरहेको आरोप लगाउनुभयो । चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्माले राष्ट्र बैङ्कले प्रभावकारी ढङ्गले नियमन र नियन्त्रण नगर्दा बैङ्कले चर्को ब्याज लिइरहेको बताउनुभयो । 

सुर्खेत उद्योग वाणिज्य सङ्घका महासचिव भद्र भण्डारीले दशैँजस्तो चाडमा पनि सुर्खेतको व्यापार बढ्न नसकेको बताउनुभयो । उहाँले विगतको तुलनामा यस पटकको दशैँमा ५० प्रतिशत मात्रै व्यापार भएको जानकारी दिँदै उहाँले बैङ्कले लगानी नगर्दा र ब्याज मात्रै वृद्धि गर्दा अर्थतन्त्र चलायमान हुन नसकेको बताउनुभयो ।