• ११ वैशाख २०८१, मङ्गलबार

उम्मेदवारमा मुगा गाउँकै वर्चस्व

blog

हिले, असोज ३१ गते । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका सात जनामध्ये तीन जना तत्कालीन मुगा निवासी छन्। प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराउनुभएका सुनीलबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट दर्ता गराउनुभएका राजेन्द्र राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दर्ता गराउनुभएका कुमारबहादुर थापा यही क्षेत्र निवासी हुनुहुन्छ। सङ्घतर्फ समानुपातिकमा सिफारिस हुनुभएका जनता समाजवादीका नेता अर्जुन थापा र प्रदेशमा सिफारिस हुनुभएका नेपाली कांग्रेसकी नेत्री इन्दिरा थापासमेत यही क्षेत्र निवासी हुनुहुन्छ।

यो पनि पढ्नुहोस

पहाडलाई बनाऊँ भरिलो

तत्कालीन धनकुटा जिल्लाको मुगा गाविस जिल्ला राजनीतिमा धेरै पहुँच राख्ने क्षेत्र हो। स्वर्गीय पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको गृहक्षेत्रसमेत रहेको मुगा राजनीतिक रूपमा निकै अगाडि छ। स्व. सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापा अहिले नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य तथा केन्द्रीय सदस्य हुनुहुन्छ। राजेन्द्र राई एमालेको केन्द्रीय सदस्य तथा धनकुटा इन्चार्ज रहनुभएको छ। राप्रपाका कुमारबहादुर थापा जिल्ला अध्यक्ष हुनुहुन्छ। अर्जुन थापा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख हुनुहुन्छ। इन्दिरा थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ।

यो पनि पढ्नुहोस

यसअघिका निर्वाचनमा पनि दुई कार्यकाल यसै क्षेत्रमा थापा र राई विजयी भइसक्नुभएको छ। थापा २०७० सालको संविधान सभा निर्वाचनमा राईलाई पराजित गर्दै विजयी हुनुभएको थियो भने राईले अघिल्लो संसदीय निर्वाचनमा थापालाई पराजित गर्नुभएको थियो। तत्कालीन मुगा गाविस अहिलेको पाख्रिवास नगरपालिका–७ र ८ बनेको छ। राईको घर अहिले वडा नम्बर ७ मा पर्छ भने अन्य उम्मेदवार वडा नम्बर ८ का हुनुहुन्छ।

यो पनि पढ्नुहोस

धान थन्क्याउने चटारो

यो निर्वाचनमा यो क्षेत्रबाट सबैभन्दा बढी नेताले प्रतिस्पर्धा गरे पनि सोही क्षेत्रका जनतालाई न कुनै चासो छ न चिन्ता नै। पटक पटक यही क्षेत्रका उम्मेदवार विजयी भए पनि उहाँहरूले विकासका लागि कुनै चासो नदिएको स्थानीयको गुनासो छ। स्थानीय मीनादेवी भुजेल नेताहरूको हार–जित तथा उम्मेदवारीले आफूहरूलाई कुनै अन्तर नहुने बताउनुहुन्छ। “जितेर जानेहरू पो खुसी हुन्छन्, हामी त कसरी खुसी हुनु ? आफ्नो समस्या आफैँसँग छ, कसैले केही गर्ने हैन क्यारे !” भुजेल बताउनुहुन्छ। 

यो पनि पढ्नुहोस

अहिले पनि मुगाका धेरै स्थान स्वास्थ्य, शिक्षा, सडक पहुँचसहित जीविकोपार्जन र रोजगारीको विषयमा निकै पछाडि छन्। बालबालिकाले शिक्षा लिन घण्टौँ धाउनु पर्ने बाध्यता अहिले पनि छ। जटिल उपचारका लागि धनकुटा तथा तराईकै अस्पताल धाउनुपर्ने बाध्यता छ। रोजगारी र सुविधाका लागि बसाइ सर्नेको लर्को पनि उत्तिकै छ। जग्गाजमिन धेरै बाँझिएको स्थानीयको गुनासो छ। नेताहरू चुनावको बेला यिनै विषय उठाएर भोट माग्न आउने तर जितेर गएपछि जनताका सुखदुःखबाट टाढा हुने गरेको स्थानीय प्रेम भुजेलको आरोप छ।

यो पनि पढ्नुहोस

कात्तिक १८ मा ‘लाखे’

सबैभन्दा बढी उम्मेदवार मुगाबाट हुँदा खुसी लागे पनि जितेर गएपछि आफ्नो क्षेत्रको विकासमा खासै ध्यान नदिने भएकाले खुसी हुनुको अर्थ नभएको स्थानीय भैरवबहादुर मगरको भनाइ छ। अब विजयी हुने उम्मेदवारलाई जनताका सुखदुःखमा साथ दिन तथा तथा स्वास्थ्य, शिक्षा, सडक पहुँच र रोजगारीको विषयमा ध्यान दिन मगरको सुझाव छ।    

Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।