• १२ वैशाख २०८१, बुधबार

झापा १ मा शर्मा र खरेलको प्रतिस्पर्धा

blog

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमालेका स्थायी कमिटी अग्नि खरेल । फाइल तस्बिर

लीलाराज खडका 

विर्तामोड, असोज ३० गते । मङ्सिर ४ गते हुने सङ्घीय चुनावका लागि झापा क्षेत्र नम्बर १ मा चहलपहल बढेको छ। नेपाली कांग्रेसका महामन्त्री तथा लोकप्रिय युवा नेता विश्वप्रकाश शर्मा र एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व कानुनमन्त्री अग्नि खरेलबीच हुने प्रतिस्पर्धालाई रोचक ढङ्गले हेरिएको छ। शर्मा र खरेलसँगै झापा १ मा  प्रतिनिधिसभामा १५ र प्रदेशसभाका दुई क्षेत्रबाट १६ जना उम्मेद्वार चुनावी दौडमा हुनुहुन्छ।

यसअघि  प्रतिनिधिसभाका राप्रपा नेपालका उम्मेद्वार सन्तराज कार्कीले उम्मेद्वारी फिर्ता लिनुभएको थियो । झापा १ मा मुख्य प्रतिस्पर्धा कांग्रेस, माओवादी र नेकपा एसका गठबन्धनका उम्मेद्वारबीच हुने देखिन्छ। 

झापा-१ मा दुवै प्रतिस्पर्धी ढुक्क हुने अवस्थामा नरहेको दुवैको चुनावी प्रचार शैलीलेसमेत देखाएको छ। आफ्नो स्थानीय क्षेत्रको लाभ शर्मालाई रहेको  भए पनि  परम्परागत जनमतका हिसाबले एमाले बलियो रहेकोले यसको लाभ भने खरेलले पाउने अड्कलबाजी गरिएको छ। 

शर्मालाई आफ्नो लोकप्रियता र स्थानीय उम्मेदवार भएको आधारमा एमालेको ठूलो जनमत आफूतिर तान्नुपर्ने चुनौती थपिएको छ। 

२०७४ को स्थानीय चुनावमा यो क्षेत्रमा वाम गठबन्धन झन्डै १४ हजार मतान्तरले अघि रहेको पाइएको छ । तर, चुनावी परिणाम सार्वजनिक हुँदा शर्माले उल्लेख्य आकारमा यो मतअन्तर घटाउनुभएको थियो। त्यसबेला राम कार्कीले ३६ हजार १७३ मत पाएर जित्दा शर्माले ३३ हजार ३१० मत पाउनुभएको थियो।  यसरी १४ हजारले पछि परेको क्षेत्रमा शर्माले भने २ हजार ८६३ मतले मात्रै पराजय हुनुभएको थियो। 

कांग्रेस र गठबन्धन दलका  नेताको  स्थानीय चुनावको गणित शर्माले बदल्ने दाबी  छ। जनप्रतिनिधि नहुँदै पनि शर्माले यो क्षेत्रको विकासमा उल्लेख्य योगदान दिएको र त्यसबारे जनता जानकार रहेको गठबन्धनको दाबी छ।  

‘स्थानीय चुनावको गणितले काम गर्दैन भन्ने २०७४ सालमै देखिसकेको छ। त्यसबेला कांग्रेसको २४ हजार हाराहारी मात्रै मत भएका बेला ३३ हजारभन्दा बढी  मत आयो।  यदि त्यो गणितले काम गर्थ्यो भने मतान्तर ज्यादै ठूलो हुनुपर्ने होइन र ?,’ कांग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले गोरखापत्रसँगको कुराकानीमा भन्नुभयो। 

एमाले र राप्रपा समर्थक पनि खरेल ओलीको विश्वासपात्र भएकाले ओली प्रधानमन्त्री हुँदा खरेल  मन्त्री बन्ने प्रचार गर्दै घरदैलोमा रहेको पाइएको छ।  एमाले राप्रपा नेताको पनि दाबी  खरेलले विकासका काममा नेतृत्व गर्ने क्षमता राख्ने  र यस क्षेत्रमा विकासका योजना ल्याउने तर्क छ। यसबाहेक पार्टीको सङ्गठन र स्थानीय चुनावको मतले पनि खरेलको पक्षमा बलियो माहौल रहेको दाबी गरिएको छ। 

मेचीनगर नगरपालिकाका १५ वटै वडा,  भद्रपुर नगरका ९ र १० नम्बर   बुद्धशान्ति गाउँपालिकाका चार वटा वडा ४, ५ , ६, ७ समेटिएको यो क्षेत्रमा १ लाख २० हजार ३७५ मतदाता छन्। 

स्थानीय चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार यहाँ  एमालेसँग ३१ हजार २३२ मत छ भने कांग्रेससँग २४ हजार ५९ मत छ। राप्रपासँग  पाँच हजार ९२२ मत रहेको क्षेत्रमा माओवादीसँग तीन हजार ९०५, एकीकृत समाजवादीसँग एक हजार २५२ र लोकतान्त्रिक समाजवादी पार्टीसँग २६२ मत छ।

यो हिसाबले एमाले-राप्रपा गठबन्धनसँग यहाँ ३७ हजार १५४ मत छ भने सत्ता गठबन्धनसँग २९ हजार ४७८ मत छ। यो क्षेत्रमा उम्मेदवारी दर्तापछि भने राप्रपा मत विभाजित बनेको छ। प्रदेश सभाको क्षेत्र ‘ख’ पाएको राप्रपाबाट सविना बजगाईँ उम्मेदवार बन्नुभएको छ। टिकट नपाएपछि राप्रपाका पुराना नेता कल्याण खड्काले राप्रपा नेपालबाट उम्मेदवारी दिनुभएको छ।  

झापा १ बाट यसअघि विश्वप्रकाश शर्माले दोस्रो संविधानसभामा एमालेका रविन कोइरालासँग र गत २०७४ सालको प्रतिनिधिसभामा माओवादीका उम्मेद्धार राम कार्की पार्थसँग पराजित हुनुपरेको थियो।