• १६ चैत २०८०, शुक्रबार

भारोत्तोलनमा पुलिसलाई पहिलो स्वर्ण

blog

भारोत्तोलनमा पदक विजेता खेलाडी । तस्बिर : राखेप

काठमाडौं, असोज ३० गते । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण जितेको छ । पोखरा उद्योग वाणिज्य सङ्घमा आइतबारदेखि सुरु प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले पुलिसलाई पहिलो स्वर्ण दिलाउनुभयो ।

उहाँले स्न्याचतर्फ ५० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल एक सय १५ केजी भार उठाउँदै स्वर्ण जित्नुभएको हो । यस्तै एपिएफकी लीला राईले रजत र मधेश प्रदेशकी अम्बिकाकुमारी यादवले कांस्य जित्नुभयो । 

एपीएफकी लीलाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी र अम्बिकाले न्याचतर्फ ३५ र क्लीन एण्ड जर्कमा ४० गरी कुल ७५ केजी भार बहन गर्नुभएको थियो । सोही तौल समूहमा ७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी १०/१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल एक  सय ७२ जना खेलाडीले भाग लिएको नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा २० स्वर्ण, २० रजत र २० कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।