• ६ चैत २०८०, मङ्गलबार

गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगायो : अध्यक्ष नेपाल

blog

काठमाडौं क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल । तस्बिर : सागर बस्नेत

काठमाडौं, असोज ३० गते। सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएको बताउनुभएको छ। 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले धराप परिसकेको संविधान र लोकतन्त्रलाई रक्षा गर्दै गठबन्धनले मुलुकमा ठूलो दुर्घटना हुनबाट जोगाएको बताउनुभयो। यसकारण, आगामी निर्वाचनमा आम मतदाताले गठबन्धनमा आबद्ध दलका उम्मेदवारलाई जिताउनुपर्ने भनाइ उहाँले राख्नुभयो।

अध्यक्ष नेपालले भन्नुभयो, “पटक-पटक धरापमा परेको संविधानलाई जोगाउने कुरामा यो वाम-लोकतान्त्रिक गठबन्धनले महत्त्वपूर्ण भूमिका खेल्यो। त्यसका निम्ति तपाईँहरूले यी सबै नेताहरूलाई धन्यवाद दिनु पर्दछ। गठबन्धनमा सामेल भएका पार्टीलाई पनि जुन पार्टीका कार्यकर्ताहरूले मेचीदेखि महाकालीसम्म प्रतिगमनका विरुद्धमा तरङ्ग पैदा गर्नुभएको थियो। जनतालाई जागृत गर्नुभएको थियो।”

सर्वोच्च अदालतले बडो राम्रो फैसला गरेको, प्रतिनिधिसभा पुनर्स्थापना भएको र त्यसपछि मुलुक ठिक बाटोमा अगाडि बढ्न थालेको उहाँले चर्चा गर्नुभयो। मुलुक अहिले एउटा अवस्थामा अगाडि बढिरहेको तर भोलिको निम्ति फेरि खतरा विद्यमान रहेको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, “हामी सर्वसत्तावादको विरुद्धमा छौँ। लोकतान्त्रीकरणको पक्षमा छौँ। जनअधिकारको पक्षमा छौँ। हामी देश विकासको पक्षमा छौँ। निर्वाचन क्षेत्रसँग जोडिएका विषयवस्तु बारेमा हाम्रा उम्मेदवारले आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ।” भोलिका दिनमा पनि गठबन्धन दलकै अनुकूलता रहेको भन्नुहुँदै उहाँले गठबन्धन दलका उम्मेदवारलाई विजयी बनाउन आह्वान गर्नुभयो।