• ६ चैत २०८०, मङ्गलबार

अलराउन्डर राजेन्द्र

blog

क्वासमा राजेन्द्र शाक्य (बाँया) भाई रिद्धि शाक्यलाई हराएपछि । तस्बिर : गोरखापत्र

गोरखापत्र समाचारदाता

पोखरा, असोज ३० गते । खेलकुदको दुनियाँमा एउटै परिवारका सदस्यहरूको सहभागिताका उदाहरण धेरै देख्न पाइन्छ । नवौँ राष्ट्रिय खेलकुदमा एउटै परिवारका खेलाडीहरूको सहभागिता रहेका छन् । उदाहरणका लागि गौरिका सिंह र उहाँका भाइ सौरेन सिंह । 

एथलेटिक्सका दुई च्याम्पियन गोपीचन्द्र पार्की र शिवराज पार्की । नवौँ राष्ट्रिय खेलकुदमा सिंह र पार्की दाजुभाइ, दिदीभाईको चर्चा धेरै छ । यद्यपि यिनीहरूले राष्ट्रिय खेलकुदमा एकअर्काबीच खेल्ने छैनन् ।

यसबीच स्क्वासमा अर्को दाजुभाइको जोडी राजेन्द्र शाक्य र रिद्धी शाक्यबीच भने एकअर्काविरुद्ध नै राष्ट्रिय खेलकुदमा भिडन्त परेको छ । सो भिडन्तमा दाइ राजेन्द्र शाक्य विजयी हुनुभयो । राजेन्द्रले रिद्धिलाई सोझो सेटमा हराएर क्वाटर फाइनलमा स्थान बनाउनुभयो । तर राजेन्द्र क्वाटर फाइनलमा अमिर ब्लोनसँग पराजित हुनुभयो । सो हारपछि राजेन्द्रले नवौँ राष्ट्रिय खेलकुदपछि प्रमुख प्रतियोगिता नखेल्ने घोषणा गर्नुभयो । 

आठौँ राष्ट्रिय खेलकुदमा स्क्वासमा कांस्य पदक जित्ने राजेन्द्रले यसपालि पनि पदकसहित सन्न्यास लिने मन बनाउनुभएको थियो । तर हालै डेँगु रोगको सङ्क्रमणमा परेको हुनाले आफ्नो फिटनेसले धोका दिएपछि पदक जित्ने सपना पूरा भएन भन्नुहुन्छ राजेन्द्र । उहाँले स्क्वासका घरेलु प्रतियोगितालाई भने निरन्तरता दिनुहुनेछ ।

राजेन्द्रले घरेलु खेलकुदमा राष्ट्रिय स्तरमा तीन खेल खेल्ने कम खेल व्यक्तित्वमध्ये एक हुनुहुन्छ । सानैदेखि खेलमा होमिएका राजेन्द्र अहिले ४६ वर्षको उमेरमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ । राजेन्द्रले यसबीच फुटबल, ब्याड्मिन्टन र स्क्वास गरी तीन खेलमा आफ्नो नाम बनाउनुभयो । 

राजेन्द्रले राष्ट्रिय खेलकुदमा मात्र दुई फरक खेलमा सहभागिता जनाउनुभएको छ । आठौँ र नवौँ राष्ट्रिय खेलकुदमा स्क्वासमा सहभागिता जनाउनुअघि राजेन्द्रले मध्यमाञ्चलको प्रतिनिधित्व गर्दै राष्ट्रिय खेलकुदमा फुटबलमा भाग लिनुभएको छ ।

फुटबलमा २०५४ सालमा थ्रिस्टार च्याम्पियन हुँदा राजेन्द्र महत्त्वपूर्ण सदस्य हुनुहुन्थ्यो । उहाँले त्यसपछि केही सत्र एनआरटीका लागि पनि खेल्नुभयो । राष्ट्रिय टिमकै यु१९ सदस्य भएर थाइल्यान्ड पुग्नुभयो ।

फुटबलको खेलाडी जीवनबाट सन्न्यास लिएपछि एएफसी सी लेभलको फुटबल प्रशिक्षण उत्तीर्ण गर्नुभयो । उहाँकै प्रशिक्षकत्वमा च्यासल क्लबले सी डिभिजनबाट बी डिभिजनमा उक्लेको थियो । च्यासलले पछि ए डिभिजनमा पनि स्थान बनायो ।

यसबीच उहाँले केही वर्ष ब्याड्मिन्टनलाई पनि अपनाउनुभयो । हरेक खेल खेल्न सक्ने खुसी भएका राजेन्द्रले ललितपुरमा छनोट भएर अल नेपाल ब्याड्मिन्टन च्याम्पियन्सीप खेल्नुभएको छ । आठ वर्षअघि उहाँ स्क्वासमा होमिनुभएको हो ।

३८ वर्ष पुगेपछि स्क्वास खेल्न थालेका राजेन्द्रले यस खेलमा पनि आफूलाई अव्वल साबित गर्नुभयो । स्क्वासामा नेपालको प्रतिनिधित्व गर्दै उहाँले जकार्तामा भएको एसियाली खेलकुद (एसियाड)मा सहभागिता जनाउनुभएको छ । अहिले उहाँ नेपाल स्क्वास एन्ड र्याकेट्स सङ्घका केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।