• १३ वैशाख २०८१, बिहिबार

प्याराग्लाइडिङ प्रतियोगिता नै स्थगित

blog

मृतक खेलाडी निमिस थापा ।

पोखरा समाचारदाता

पोखरा, असोज ३० गते । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ खेलाडी नेपाल आर्मीका २६ वर्षीय निमिस थापाको मृत्यु भएपछि प्याराग्लाइडिङ स्पर्धानै स्थगित भएको छ । 

पोखरा १०, अमरसिंह चोक निवासी थापाको आइतबार बिहान क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सराङकोटस्थित जमिनमा खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपि सुन्दर तिवारीले जानकारी दिनुभयो । 

ग्लाइडर नखुलेका कारण उहाँ अन्दाजी १०० मिटर माथिबाट जमिनमा खस्नुभएको थियो । घाइते उहाँलाई उपचारका लागि सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पताल पुर्‍याइएकोमा डाक्टरले मृत घोषित गरेका थिए । 

यसैबीच, दुर्घटनामा खेलाडीको मृत्यु भएपछि नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ स्थगित गरिएको छ । राष्ट्रिय खेलकुद परिषदको निर्देशन अनुसार प्याराग्लाइडिङ अनिश्चितकालका लागि स्थगित गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग ग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले जानकारी दिनुभयो ।