• १६ चैत २०८०, शुक्रबार

आइपुग्यो समानुपातिकको मतपत्र

blog

बोदेबर्साइन समाचारदाता

बोदेबर्साइन (सप्तरी), असोज ३० गते । जिल्ला निर्वाचन कार्यालय सप्तरीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा समानुपातिक मतपत्र पु-याइएको जानकारी दिनुभयो। 

शनिबार निर्वाचन आयोगबाट जिल्ला निर्वाचन कार्यालय सप्तरीमा पुगेको मतपत्र कडा सुरक्षाका बीच शनिबार जिल्लाको कञ्चनरूप, शम्भुनाथ, खडक र राजविराजमा स्थापना गरिएका चारवटै निर्वाचन अधिकृतको कार्यालयलाई हस्तान्तरण गरिसकिएको जिल्ला निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिनुभयो। चार लाख १२ हजार ४४५ मतदाता रहेको सप्तरीमा चारवटा प्रतिनिधि सभा र आठवटा प्रदेश सभा निर्वाचन क्षेत्र छन्। प्रत्येक निर्वाचन क्षेत्रका मतदाता सङ्ख्याको दस प्रतिशत बढी मतपत्र निर्वाचन आयोगले पठाउने प्रावधान रहेको सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताउनुभयो। 

योसँगै जिल्ला मुख्य निर्वाचन अधिकृतले मतदान केन्द्रमा मतदान अधिकृतलाई खटाएको तीन दिन पहिलेमात्रै मतदान स्थलमा मतपत्रसहितका निर्वाचन सामग्री पठाइने मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिनुभयो 

यसैगरी बर्दिबास समाचारदाताका अनुसार प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन नजिकिने क्रमसँगै जिल्लास्थित निर्वाचन कार्यालयहरूले पनि चुनावी बन्दोबस्ती, कर्मचारी खटनपटन, निर्वाचन सामग्रीलगायतका व्यवस्थापन मिलाउन गृहकार्य सुरु गरेका छन्। शनिबार महोत्तरीका चारवटै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फको मतपत्र पनि आइपुगेको छ। 

मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले मतदाता सङ्ख्याको आधारमा सबै निर्वाचन क्षेत्रमा शनिबार अपराह्नसम्म समानुपातिकतर्फको मतपत्र आइपुगेको बताउनुभयो। “मतदाता सङ्ख्याको आधारमा समानुपातिक मतपत्र प्राप्त भएका छन्,” मुख्य निर्वाचन अधिकृत सेनले भन्नुभयो “प्राप्त मतपत्रलाई मिलाउने, गन्ती रुजु गर्ने र सुरक्षित राख्ने काम पनि सकिएको छ।”

महोत्तरीको निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फका एक लाख नौ हजार र प्रदेश सभातर्फका एक लाख ११ हजार मत प्राप्त भएको बर्दिबास–३, गौरीडाँडास्थित क्षेत्र नं. १ का सहायक निर्वाचन अधिकृतले जनाउनुभयो। मुख्य निर्वाचन अधिकृत सेनका अनुसार पनि दुवैको गरी दुई लाख मतपत्र प्राप्त भएको जनाउनुभयो। क्षेत्र नं. २ र ४ का निर्वाचन अधिकृतहरूले पनि मतदाता सङ्ख्याको आधारमा समानुपातिकका मतपत्र प्राप्त भएको पुष्टि गर्नुभयो।