• १३ वैशाख २०८१, बिहिबार

बढ्न थाल्यो पर्यटकीय चहलपहल

blog

काठमाडौँ, असोज ३० गते । कोरोना भाइरस सङ्क्रमणले लामो समय थलिएको पर्यटन व्यवसाय मौसममा आएको सुधारले पुनः मौलाउन थालेको छ। 

कोरोनाकालपछिका अधिकांश मौसम पर्यटकको बाटो कुर्दै आएका व्यवसायीहरू पछिल्लो समय बाह्य पर्यटकको बढ्दो आगमनले व्यस्त हुन थालेका छन्। होटल, रिसोर्ट, होमस्टेमा आन्तरिक र बाह्य पर्यटकको बुकिङ धमाधम भइरहेको छ। होटलका सभाहलसमेत तालिम, गोष्ठी, भेला आदि कार्यक्रमका लागि बुकिङ हुन थालेका छन्। आन्तरिक हवाई भरिभराउ छन्। 

होटल एसोसिएसन अफ हानका प्रथम उपाध्यक्ष विनायक शाहले अक्टोबर र नोभेम्बरमा नेपाल आउन चाहने विदेशी पर्यटकले तारे होटलमा गरेको बुकिङसमेत सन्तोषजनक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “यतिबेला पर्यटकीय गतिविधि बढेसँगै तेस्रो मुलुकका पर्यटकको आगमन र आन्तरिक पाहुनाको चहलपहलले व्यवसायमा नयाँ माहोल बन्दै गएको छ तर व्यवसायी हौसिने वातावरण बने पनि भारत, चीनसँगै तेस्रो मुलुकसम्म नेपालको पर्यटक प्रवद्र्धन हुन नसक्दा नयाँ पर्यटकलाई तान्न कठिन अनुभव भइरहेको छ।”

कोभिड–१९ पछि विश्वलाई नै पर्यटकको खाँचो भएको छ। पछिल्लो समय चिनियाँको आगमन नहुनु, हवाई भाडा महँगो हुनु, विमानस्थल सेवा शुल्क बढाइनु, पर्यटक बिदा योजना कार्यान्वयन नहुनुलगायतका कारण पर्यटन क्षेत्र थप चलायमान हुन नसकेको पर्यटन व्यवसायीको गुनासो रहँदै आएको छ। दशैँको समयमा आन्तरिक पर्यटकले धुलिखेल, नगरकोट, चन्द्रागिरि, चितवन, पोखरासँगै हिमाली पर्यटन क्षेत्र गुल्जार हुन थालेको छ। 

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले वर्षायाममा नेपाल आउने पर्यटक तुलनात्मक रूपमा कम हुने भए पनि अगस्टको तथ्याङ्कले अझै बढ्दै जाने सङ्केत गरेको बताउनुभयो। अगस्टमा ४१ हजार ३०४ जना पर्यटक नेपाल आएका थिए।

उहाँले भन्नुभयो, “सन् २०२० को अगस्टमा जम्मा २५६ पर्यटक नेपाल भित्रिएकामा सन् २०२१ को सोही समयमा पाँच हजार ९१७ जना विदेशी नेपाल भित्रिएका थिए। पर्यटन आगमन दरमा निकै सुधार भएको छ।”

विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने सरकारको उद्देश्यअनुसार अनलाइनबाट नेपाल प्रवद्र्धनको काम जारी रहेको र कात्तिकमा बेलायतमा हुने वल्र्ड ट्राभल मार्केट र दुबईमा हुने पाटाको वार्षिक सम्मेलनमा समेत नेपाल प्रवद्र्धन गर्न बोर्डको तयारी रहेको उहाँले बताउनुभयो।

शरद ऋतुमा हिमाल आरोहणका लागि नेपाल आउने पर्यटकले पर्वतीय पर्यटनमा टेवा पुगेको छ। यस वर्ष नेपालसहित ६९ देशका ११० आरोही समूहका ९३१ आरोहीले विभिन्न हिमाल आरोहण अनुमति लिएका थिए। बोर्डको तथ्याङ्कअनुसार सन् २०२२ को आठ महिनामा हवाई मार्गबाट मात्रै तीन लाख २६ हजार ६६७ पर्यटक नेपाल भित्रिएका छन्।