• ६ चैत २०८०, मङ्गलबार

पर्यटकको रोजाइमा शेष नाग पोखरी (फोटो फिचर)

blog

सौन्दर्यीकरणको कार्य भइरहेको सिद्धिडाँडास्थित शेष नाग पोखरी । तस्बिर: चन्द्र पन्दाक ।

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङ सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको सिद्धि डाँडामा रहेको शेष नाग पोखरी पर्यटकको रोजाइमा पर्न थालेको छ । पछिल्लो समय सौन्दर्यीकरण गर्न थालिएसँगै पर्यटकको भीड लाग्न थालेको हो । 

फुङ्लिङबजार नजिक रहेको पर्यटकीय गन्तव्य शेष नाग पोखरीको सौन्दर्यीकरण गर्न थालिएको छ । पोखरी रहेकै क्षेत्र सिद्धि डाँडामा शिवालय मन्दिर, बौद्ध गुम्बा, चट्टानी गुफा लगायतका संरचनाहरु रहेकाले यस क्षेत्रलाई धार्मिक पर्यटनको दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ । सदरमुकाम फुङ्लिङ बजारदेखि नजिक रहेको सिद्धि डाँडा क्षेत्रलाई नै पर्यटकीय गन्तव्यका रूपमा विकास तथा प्रवर्द्धन गर्ने गरी पछिल्लो समय पूर्वाधार निर्माणका कार्यहरू गरिँदै आएको छ ।


फुङ्लिङ नगरपालिका–९ का वडाध्यक्ष लक्ष्मण गुरुङले धार्मिक स्थलका रूपमा रहेको सिद्धि डाँडा क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजनासहित आफूहरू लागेको बताउनुभयो । वडाध्यक्ष गुरुङका अनुसार शिवालय मन्दिर, बौद्ध गुम्बापछि सिद्धि डाँडामा रहेको आकर्षणको केन्द्र शेष नाग पोखरीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सौन्दर्यीकरणको कार्य गर्न थालिएको छ । 

आकर्षक डिजाइन (आकृति) मा पोखरी घेरा बार, पोखरी अवलोकन गर्न वरिपरि हिँड्नलाई सहज हुने गरी पदमार्ग निर्माण लगायतका कार्य भइरहेको वडाध्यक्ष गुरुङले बताउनुभयो । पोखरीको सौन्दर्यीकरणसँगै सिद्धि डाँडालाई पर्यटकीय गन्तव्य बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी बृहत् गुरुयोजना नै बनाएर विकासको कार्य गर्ने तयारी रहेको गुरुङको भनाइ छ ।


पर्यटनको राम्रो सम्भावना भएर पनि सरोकारवालको समयमा ध्यान नजानुले कहिलेसम्म विकास हुन नसकेको वडाध्यक्ष गुरुङको बुझाइ छ । पछिल्लो समय भने पर्यटन प्रवर्द्धनका निम्ति सिद्धि डाँडालाई विकास गर्नुपर्छ भन्नेमा सबैको सकारात्मक सोच रहँदै आएको पनि उहाँ बताउनुहुन्छ । सकारात्मक सोचकै कारण भर्खरैदेखि पूर्वाधारका कार्यहरू हुन थालेको उहाँले बताउनुभयो । 

फुङ्लिङ नगरपालिकाले पेस गरेको योजनाअनुसार गत आर्थिक वर्षमा प्रदेश र सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट पदमार्ग निर्माण, सौन्दर्यीकरण लगायतका कार्य गर्न थालिएको छ । गत आवमा प्रदेश सरकारको ३० लाख, सङ्घीय सरकारको २७ र फुङ्लिङ नगरपालिकाको पाँचसमेत कुल ६२ लाख रुपियाँ बजेट खर्च गरेर पोखरीको संरक्षण साथै सौन्दर्यीकरणको कार्य र पोखरीदेखि शिवालय मन्दिरसम्म जाने पदमार्गको स्तरोन्नति गरिएको छ । 


चालू आर्थिक वर्षमा पनि फुङ्लिङ नगरपालिकाले केही रकम विनियोजन गरेको र सो रकमले पोखरीको सौन्दर्यीकरण कार्य भइरहेको वडाध्यक्ष गुरुङले बताउनुभयो । आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना भएर पनि विकास र प्रवर्द्धनमा ढिलो भइरहेको उहाँले बताउनुभयो । अहिलेसम्म सदरमुकाम बजारदेखि सिद्धि डाँडासम्म पुग्ने सडक कालोपत्रे हुन नसकेको, थुप्रै पूर्वाधारहरूको अपुग साथै आवश्यक प्रचारप्रसार लगायतमा कमी भइरहेको उहाँको भनाइ छ । 

यता सदरमुकाम फुङ्लिङ बजारदेखि नजिक भएकाले धेरै आन्तरिक पर्यटकहरू सिद्धि डाँडा जाने गर्दछन् । यातायातका साधनमार्फत हाल कच्ची मार्ग भएकाले करिब १५ मिनेट र पैदल यात्रामार्फत आधा घण्टा (३० मिनेट) मा पुग्न सकिन्छ । त्यस क्षेत्रबाट नजिक देखिने हिमाल, पहाड र टाकुरा साथै वरिपरि रहेको अलैँची बगान आदिका कारण सिद्धि डाँडाको सौन्दर्य तथा मनोरम दृश्यमा आन्तरिक पर्यटकहरू रमाउने गर्दछन् । 


विशेष गरी सार्वजनिक बिदा वा फुर्सदका दिन समय बिताउन र घुमघामका लागि फुङ्लिङ बजार बासी तथा आन्तरिक पर्यटक सिद्धि डाँडा जानेका गरेका छन् । त्यस्तै विदेशी पर्यटकसमेत सदरमुकाम फुङ्लिङमा बसेका बेला सिद्धि डाँडाको भ्रमण गर्ने गरेका बताइएको छ । उता विशेष तिथि, पर्वका बेला धार्मिक भक्तजनको भीड लाग्ने गर्दछ भने अन्य दिन पनि मन्दिर तथा तथा गुम्बाको दर्शन र पूजापाठ गर्न भक्तजनहरू जाने गर्दछन् ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।