• ७ वैशाख २०८१, शुक्रबार

पूर्ण प्रेस स्वतन्त्रताप्रति आयोग स्पष्ट छ : प्रमुख आयुक्त थपलिया

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २८ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकप्रति आयोग पूर्णतः स्पष्ट रहेको बताउनुभएको छ । आयोगले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न लागेको भन्ने मनोगत प्रकारका मिथ्या सूचना प्रवाह नगर्न उहाँले आग्रह गर्नुभएको छ ।

आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आजदेखि सञ्चालनमा ल्याएको निर्वाचन इ—बुलेटिन र कल सेन्टरको शुभारम्भ कार्यक्रममा प्रमुख आयुक्त थपलियाले सो आग्रह गर्नुभएको हो । आयोग आफ्नो संवैधानिक दायित्व, प्रेस स्वतन्त्रताको हक र सम्बन्धित निकायको जिम्मेवारीप्रति आफूहरू स्पष्ट छ उहाँले भन्नुभयो । 

सञ्चारमाध्यमका अन्तर्राष्ट्रिय मूल्य र मान्यताप्रति आयोगले सधैँ सम्मान गर्ने र आयोगका औपचारिक दस्ताबेजमा निर्वाचनको वातावरण र यसलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आम सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको स्पष्ट उल्लेख गरिएको उहाँले स्मरण गराउनुभयो ।

“आयोगका बारेमा कतिपय मिथ्या सूचना आएकामा हामी गम्भीर भएका छौँ” प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “हामी कसैको निगरानी गर्दैनौँ । हामी सञ्चारमाध्यमलाई हाम्रो पनि निगरानी गरिदिन आग्रह गर्दछौँ ।” 

सानातिना विषयलाई विवादमा ल्याएर निर्वाचनको स्वच्छतालाई खलबल्याउन सक्छु भन्ने कसैले सोचेको छ भने त्यो दिवास्वप्न मात्रै हुने उहाँले बताउनुभयो । “असल प्रयत्नलाई गलत रूपमा नबुझ्न म आग्रह गर्दछु” प्रमुख आयुक्त थपलियाले भन्नुभयो ।

प्रेस काउन्सिल नेपाल, ऐन २०४८ बमोजिम काउन्सिलले गहनतापूर्वक पत्रकार आचारसंहिताको अनुगमन गरोस् र त्यसबारे आयोगलाई जानकारी गराओस् भनेर निर्देशन दिने निर्णय भएको पनि उहाँले स्पष्ट पार्नुभयो । प्रमुख आयुक्त थपलियाले काउन्सिल सशक्त होस् र पत्रकार आचारसंहिता बमोजिम सञ्चारमाध्यमलाई स्वनियमन र स्वमूल्याङ्कन गराउन काउन्सिलले पहल गरोस् भन्ने आयोगको चाहना रहेको उहाँले बताउनुभयो । 

स्वनियमन र स्वमूल्याङ्कनलाई प्रभावकारी बनाउँदा सञ्चारमाध्यमलाई कसैले निर्देशन दिइरहनु वा उसमाथि अनुगमन गरिरहनु नपर्ने प्रमुख आयुक्त थपलियाको भनाइ छ ।