• १५ चैत २०८०, बिहिबार

तिहारका लागि माटोका पाला बनाउन भ्याइनभ्याई (फोटो फिचर)

blog

तिहारका लागि माटोका पाला बनाउनुहुँदै भक्तपुरका ४५ वर्षीय कृष्णश्याम प्रजापति । तस्बिर : सुजन गुरुङ

काठमाडौं, असोज २८ गते । नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिएसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्या भएको छ । भक्तपुरको ‘पोर्टरी स्क्वायर स्वाएर’ मा माटाको भाँडा बनाउँदै आएका स्थानीय प्रजापति समुदायलाई भ्याइनभ्या भएको हो । परम्परागत रुपमा बनाइने यस्ता माटोका भाँडा पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्ने गरेका छन् ।


यहाँ आकर्षक माटोको भाडा बनाउने बोलाछेंँ र तालाक्वको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचोलगायतका स्थानका प्रजापति समुदायका पूरै परिवारमा यतिखेर तिहारका लागि आवश्यक पाला बनाउने, सुकाउने र रङ्ग भर्ने कामबाट एकछिन फुर्सद छैन ।

तिहारमा माटोको पालाको माग धेरै हुने भएकाले हाल पाला बनाउन भ्याइनभ्या भएको ४५ वर्षीय कृष्णश्याम प्रजापति बताउनुहुन्छ । तिहारको विद्युतीय झिलिमिली बत्तीको प्रयोग बढे तापनि संस्कृतिक रुपमा दियोको प्रयोग आवश्यक भएकाले पालाको माग बढ्ने गरेको छ ।


माटोका भाँडा बनाउँदै आएका पोर्टरी स्क्वायरका करिब ४० घर परिवार प्रजापति समुदायको यतिखेर एकछिन हात खाली छैन, कोही माटोका भाँडा बनाइरहेका, कोही सुकाइरहेका, कोही आधुनिक भट्टीमा भाँडा पोलिरहेका त कोही झिक्दै बाकसमा प्याक गर्दै माग आएका ठाउँमा सामान पुर्‍याउन जान भ्याइनभ्या भएको देखिन्छ ।

यहाँ उत्पादन भएका पाला यतिखेर भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ, वीरगञ्जबाट समेत माग भएकाले पठाउने गरिएको छ ।


विगतमा भक्तपुरका कुमालेले बाहिर जिल्लामै गएर माटोका भाँडा बनाउने गर्ने जनाइएको छ । कतिपय विभिन्न जिल्लामा बसोबास गरेका कुमालेले स्थानीयस्तरमै भाँडा बनाउने गरे पनि अहिले यो परम्परा लोपोन्मुख अवस्थामा पुगेको छ । 

काठमाडौं उपत्यकादेखि उपत्यका बाहिरसम्मबाट लाखौँ पालालगायतका सामग्रीको माग आएपछि सो समुदायलाई भ्याइनभ्या भएको हो । अहिले भक्तपुर र थिमिका प्रजापतिले माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिन्चाजस्ता सामानको माग बढेकाले यस्ता सामान बनाउन व्यस्त  छन् । थोरै भाँडा बनाउनेले पनि तिहारमा रु. एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको र बाहिरबाट आएको माग लिएर भाँडा बनाउनेले तिहारमा मात्र रु. पाँच लाखसम्म आम्दानी गर्ने जनाइएको छ  ।