• ७ वैशाख २०८१, शुक्रबार

काउन्सिलसँग समन्वय गरेर अघि बढ्न आयोगलाई पत्रकारको सुझाव

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २८ गते । निर्वाचन आयोगले मिडिया अनुगमनको नाममा सेना र प्रहरीको साइबर ब्युरो राखेर सञ्चारमाध्यम, सामाजिक सञ्जाल अनुगमन गर्ने तयारी गरेकोप्रति नेपाल पत्रकार महासङ्घसहित सरोकारवाला निकायले विरोध जनाएका छन् । प्रेस काउन्सिल नेपालले आयोजना गरेको छलफलमा सरोकारवाला निकायका प्रतिनिधिले सो विरोध जनाएका हुन् ।

आयोगले मिडिया अनुगमनका लागि प्रेस अफिस नामक संरचना खडा गरेको र त्यसले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा प्रवेश गरेको भन्दै विज्ञहरुले त्यस्तो गलत काम नगर्न आयोगलाई सुझाव दिएका छन् ।  आसन्न निर्वाचन र आचारसंहिता विषयमा काउन्सिलले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार एवं काउन्सिलका पूर्व अध्यक्ष राजेन्द्र दाहालले आयोगले अनुगमनका लागि जङ्गी कर्मचारी राखेर समस्या निम्त्याएको बताउनुभयो । 

निर्वाचन आचारसंहिताको सूक्ष्म अुनगमन आयोगले गर्न सक्छ तर  त्यसको संरचनामा जङ्गी कर्मचारी राख्दा शङ्का पैदा गराएको छ दाहालले भन्नुभयो । यो कदम उचित नभएको उहाँको सुझाव छ । आयोगले अनुगमनको जिम्मेवारी नदिए पनि आचारसंहिता कार्यान्वयन भए नभएको विगतभन्दा बढी नै काउन्सिल सक्रिय हुनुपर्ने दाहालले बताउनुभयो । 

‘आयोगले गठन गरेको संयन्त्रमा सेना प्रहरीसमेत राखेर शाहीकालीन झल्को दिएको दाहालले टिप्पणी गर्नुभयो । आयोग संविधानभन्दा बाहिर जान सक्दैन, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले भन्नुभयो । यस्तो कार्यको विरोध गर्दा कारबाही हुन्छ भने जेल जान पनि हामी तयार छौं उहाँले भन्नुभयो । 

नेपाल पत्रकार महासङ्घ, प्रेस चौतारी नेपाल, प्रेस युनियन, प्रेस सेन्टर, समाजवावी प्रेस सङ्गठन सबैले काउन्सिलसँग समन्वय नगरेर आयोगले गल्ती गरेको भन्दै उक्त निर्णय सच्याउन माग गर्नुभएको छ ।  ती सङ्गठनहरुले प्रेस विज्ञप्ति जारी गरी आयोगले मिडियाको अनुगमन र कारवाही आफैँले गर्न खोजे त्यो मान्य नहुने र आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिनुभएको छ । 

पत्रकार महासङ्घका सचिव गोविन्द चौलागाईंले आयोगले अभिव्यक्ति र प्रेस स्वतन्त्रताविरोधी संयन्त्र बनाएको बताउनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बेला आचारसंहिता कार्यान्वयन गराउन काउन्सिल थप सक्रिय हुने बताउनुभयो । हाम्रो काम मिडियाका कन्टेन्ट अनुगमन गर्ने, आचारसंहिता पालना गराउने र त्यसका लागि आवश्यक समन्वय गर्ने भएकाले अरु बेलाभन्दा थप सक्रिय हुन्छौं उहाँले भन्नुभयो । कार्यक्रममा काउन्सिलका बोर्ड सदस्यहरु दीपक पाण्डे, ठाकुर बेल्वासे र रामप्रसाद दाहालसहित विभिन्न विज्ञ पत्रकारको सहभागिता थियो ।