• १६ चैत २०८०, शुक्रबार

सहज रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न निर्देशन

blog

धनुषा समाचारदाता

धनुषा, असोज २८ गते । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले जनतालाई सर्वसुलभ र सहज तरिकाले स्वास्थ्य सेवा प्रवाह गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। जनकपुरधाममा बिहीबार प्रदेश स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले आयोजना गरेको आर्थिक वर्ष २०७८÷७९ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो। 

उहाँले सरकारी अस्पतालका चिकित्सक सरकारी अस्पतालमा कम र निजी अस्पतालमा बढी समय दिने गरेको गुनासो जनस्तरमा रहेको भन्दै चिकित्सक व्यवसायी नभएर जनताको सेवक बन्नुपर्ने धारणा राख्नुभयो। उहाँले मधेश प्रदेशमा स्वास्थ्य क्षेत्रमा विगतभन्दा सुधार भएको कुरा कार्यक्रममा प्रस्तुत तथ्याङ्कले देखाएकोमा स्वास्थ्य कर्मीको प्रशंसा गर्दै शुभकामना दिनुभयो। कार्यक्रममा नीति आयोग मधेश प्रदेशका उपाध्यक्ष डा. भोगेन्द्र झाले मधेश प्रदेशमा अनुगमनको पाटो कमजोर भएको कारण स्वास्थ्य क्षेत्रमा पाउनुपर्ने उपलब्धीहरू अझै पाउन नसकेको भन्दै अनुगमनको पाटोलाई तीव्र पार्नुपर्ने धारणा राख्नुभयो। 

कार्यक्रममा स्वास्थ्यविज्ञान प्रतिष्ठान मधेश प्रदेशका उपकुलपति डा. रामकेवल साहले प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र स्वास्थ्य अनुसन्धानको क्षेत्रमा काम गरिरहेको भन्दै मधेश प्रदेशमा आउने दिनमा स्वास्थ्य सेवा सहज र कम खर्चिलो हुने बताउनुभयो। कार्यक्रममा प्रादेशिक अस्पताल जनकपुरधामका प्रमुख डा. प्रमोद यादवले सङ्घीयतापश्चात् मधेश प्रदेशमा अत्याधुनिक भौतिक संरचना निर्माण भएको भन्दै ती संरचनालाई प्रयोगमा ल्याएर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले जनशक्तिको अभावमा अस्पतालमा भेन्टिलेटर भएर पनि सञ्चालन हुन नसकेको भन्दै जनशक्तिको व्यवस्थापन गर्नका लागि प्रदेश सरकारलाई आग्रह गर्नुभयो। 

स्वास्थ्य निर्देशनालयका अनुसार यस वर्ष प्रदेशमा आङ खस्ने समस्याले पीडित ६७५ जना महिलालाई निःशुल्क शल्यक्रिया गरिएको, चारवटा स्थानीय तहलाई पूर्णपोषण र पूर्ण सुरक्षित मातृत्व सुनिश्चितता गरिएको, प्रदेशको विभिन्न नाकामा हेल्थ डेस्कको स्थापना गरिएको जस्ता कामकाजहरू भएको थियो।