• १६ चैत २०८०, शुक्रबार

समयमा काम गरिदिन बाढीपीडितको दबाब

blog

टीकापुर समाचारदाता

टीकापुर, असोज २८ गते । तटबन्धको काम समयमा नभएर बाढीले क्षति बढाएको भन्दै यहाँका बाढीपीडितले रानी जमरा कुलरिया सिँचाइ आयोजनालाई दबाब दिन थालेका छन् । बिहीबार मात्रै टीकापुर र भजनी नगरपालिकाका गाउँलेले आयोजना प्रमुख केदारकुमार श्रेष्ठलाई भेटी समयमा काम नहुनुको कारण र बाढी, डुबान समस्याको दीर्घकालीन समाधान मागेका छन् ।

टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले २०७८ कात्तिकमा कर्णालीमा आएको बाढीले तटबन्ध भत्काएको वनगाउँ क्षेत्रमा सुरक्षित गरिदिनुस् भनेर पटक पटक आग्रह गर्दा पनि आयोजनाले काम नगर्दा यस वर्ष वनगाउँ र फाँटा दुई गाउँमा पुनः क्षति भएको बताउनुभयो । बाढीपीडित सङ्घर्ष समितिका संयोजक धनसिंह साउदले ठेकेदारले काम सुरु गर्ने तर पूरा नगर्ने गरेका कारण सत्तीकर्णाली वनलगायतका क्षेत्रमा बर्सेनि सय बिघाभन्दा जमिन कटान भइरहेको बताउनुभयो ।

आयोजनाका निर्देशक केदारकुमार श्रेष्ठले त्यस क्षेत्रमा ठेक्का पाएको कम्पनी सिद्धिसाई ह्याग्र्रिवालाई कालोसूचीमा राखी धरौटी जफत गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको सार्वजनिक खरिद ऐनअनुसार त्यतिबेलाका प्रतिस्पर्धी अरू कम्पनीलाई बोलाउनुपर्ने र उनीहरू काम गर्न तयार नभए पुनः ठेक्का गर्नुपर्ने हुन्छ । त्यसैले ढिलो भइरहेछ ।” निर्देशक श्रेष्ठले भन्नुभयो, “गत वर्ष धेरै ठाउँमा तटबन्ध भत्काएकाले भएको बजेटले बढी जोखिम भएका स्थानमा मात्रै काम गर्दा यहाँ यस वर्ष पनि क्षति भएकोमा क्षमा माग्दछु, यो वर्ष समयमै पूरा गर्नेछु ।”

पथरैया नदीमा दुई वर्षअघि ठेक्का भएको तटबन्धको काम अलपत्र पार्दा यस वर्ष जनकपुर गाउँमा बाढीले ठूलो क्षति पुर्याएको भन्दै बिहीबार नै भजनी नगरपालिका–८ का जनता आयोजना कार्यालय पुगेका छन् । दुई वर्षअघि कालिका श्रीजयन्ती जेभीले साढे ५६ करोडमा १४.६ किलोमिटर तटबन्धको काम लिएर अलपत्र पारेको छ । तलमाथि तटबन्ध बनिसकेको तर बीचमै बाँकी रहेकाले त्यहीबाट बाढी पसेर क्षति भएको भजनी नगरपालिका–८ का वडाध्यक्ष पङ्कज चौधरी बताउनुहुन्छ । यहाँको बाढीले यस वर्ष गोरचौराका कालीराम चौधरीको ज्यान गएको छ । सयौँ पशुबस्तु मर्नुका साथै धानबाली नोक्सान भएको छ । पटक पटक गुनासो गर्दा पनि काम नभएकाले यस पटक धर्नामै बसेर भए पनि काम गराउन गाउँले सुझाव दिएकाले आयोजनामा आएको त्यहाँका अगुवा रामकृष्ण चौधरीले बताउनुभयो । आयोजना निर्देशक श्रेष्ठले ठेक्का लागिसकेपछि कालिका कन्ट्रक्सनले श्रीजयन्तीलाई दिएको तर श्रीजयन्तीले काम गर्न नसकेकाले उसको धरौटीसमेत जफत गरेर अहिले कालिकाले बनाउने गरी काम अघि बढेको बताउनुभयो । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनामा निर्माण कम्पनीले समयमा काम नगरिदिँदा बर्सेनि नदी कटान र डुबान हुँदै आएको छ ।

घट्दो बजेट बढ्दो चुनौती 

आयोजना निर्देशक केदारकुमार श्रेष्ठ राष्ट्रिय गौरवको आयोजनामा सिञ्चित क्षेत्र बचावट कार्यक्रममा बजेट घट्दै गएको र चुनौती थपिँदै गएको बताउनुहुन्छ । आयोजनाको पहिलो चरणमा सिँचा आयोजनासँगै यसको कमान्ड एरियामा कृषि जमिन सुरक्षित गर्न तटबन्धका कार्यक्रम पनि छन् । उहाँ भन्नुहुन्छ, “यस वर्ष तटबन्धका लागि २६ करोड दायित्व छ तर बजेट चार करोड मात्रै छ । विभागसँग कुरा भइरहेको छ, केही बजेट थप भएमा माग पूरा गर्न सकिन्छ ।”

पछिल्ला वर्षहरूमा कर्णालीको बाढीले निरन्तर कैलालीमा क्षति भइरहेको छ । यसलाई रोक्न कर्णालीको आधा पानी कोठियाघाटमा पठाउनुपर्ने, कैलालीतर्फका पालिकाले नदी किनारमा ढुङ्गा गिट्टीको ठेक्का रोकी नदीबीचमा थुप्रेका टापुहरू उत्खनन गर्नुपर्ने माग उठ्दै आएको छ । आफूले सरकारका सबै निकायमा यो कुरा उठाए पनि अझै कार्यान्वयनमा आउन नसकेको आयोजना निर्देशक श्रेष्ठको गुनासो छ ।