• १६ चैत २०८०, शुक्रबार

डेङ्गु सङ्क्रमित चार गुणाले बढे

blog

तानसेन समाचारदाता

पाल्पा, असोज २८ गते । पाल्पा जिल्लामा गएको भदौ महिनाको तुलनामा असोज महिनामा चार गुणाले डेङ्गु सङ्क्रमित बढेका छन्। चालू आर्थिक वर्षको भदौ महिनामा १३४ जनामा डेङ्गु सङ्क्रमण भएकोमा असोज महिनाको हालसम्म ४२९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। 

गत भदौ महिनाको तुलनामा चार गुणाले असोज महिनामा डेङ्गुका बिरामी बढेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो। असोज महिनादेखि तीव्र गतिमा बढेको डेङ्गु सङ्क्रमण हालसम्म पनि अवस्था उस्तै देखिएको उहाँले बताउनुभयो। जिल्लाका विभिन्न अस्पताल तथा निजी स्वास्थ्य संस्थामा गरिएको परीक्षणमा अधिकांश बिरामीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको र अस्पतालहरू डेङ्गुका बिरामीले भरिएको उहाँले बताउनुभयो।

पाल्पा जिल्लामा चालू आव २०७९/८० को तीन महिनाको अवधिमा डेङ्गु सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ। पाल्पामा गत आव २०७८÷७९ मा २७ जनामा मात्र डेङ्गु सङ्क्रमण भएको थियो। यो चालू आवको तीन महिनामा उक्त सङ्ख्या बढेर ५८६ पुगेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसूदन भट्टराईले जानकारी दिनुभयो। यो अवधिमा रिब्दीकोटका एक जना पुरुषको डेङ्गु सङ्क्रमणका कारण मृत्यु भएको उहाँले जानकारी दिनुभयो। दुई वर्षअघि पाल्पामा डेङ्गु सङ्क्रमणको अवस्था शून्य थियो तर यो वर्ष महामारीमा जस्तै डेङ्गु सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालयको भनाइ छ। पहिले तराईका जिल्लामा मात्रै देखिने डेङ्गु पहाडी जिल्लामा पनि अवस्था जोखिमपूर्ण देखिएको छ। पहाडी जिल्लामा मौसम बदलीका कारण डेङ्गु सङ्क्रमण फैलिन सहज भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टीकाराम अधिकारीले बताउनुभयो। उहाँका अनुसार जिल्ला सदरमुकाम तानसन, रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकामा सबैभन्दा बढी डेङ्गुका बिरामी फेला परेका छन्।