• १६ चैत २०८०, शुक्रबार

नदी कटान नियन्त्रण गर्नेलाई मत

blog

लहान समाचारदाता

लहान, असोज २८ गते । सिरहा र सप्तरीको सिमानामा रहेको बलान नदीले सिरहातर्फको पश्चिमी किनारको तीव्र कटानले पीडित भएका स्थानीयले कटान नियन्त्रण गराउन विश्वास दिलाउन सक्ने उम्मेदवारलाई मात्रै मत दिने बताइएका छन्। 

बलान नदी कटानले लहान नगरपालिकाको ३, ४, १७, १९ र २३, सखुवानन्कारकट्टी गाउँपालिकाको ४ र ५, भगवानपुर गाउँपालिकाको १ र ४ नम्बर वडाको सयौँ बिघा उर्वर जमिन कटान गरेर सम्पन्न किसानलाई विपन्न र मध्यम वर्गीय किसानलाई सुकुम्बासी बनाइदिएको छ। बलान नदी कटान नियन्त्रणको लागि विगतका चुनावमा प्रतिबद्धता गरेर जितेका दलका नेताहरूले काम गर्न नसकेकोले यस विषयलाई यस पटकको चुनावमा प्रमुखताको साथ उठाउने लहान–२३ का बालकृष्ण यादवले बताउनुभयो। 

हरेक चुनावमा बलान नदी कटान नियन्त्रणको लागि हरेक दलका उम्मेदवारले प्रतिबद्धता व्यक्त गर्छन् तर जितेर गएपछि निजी कार्यकर्तालाई पाल्न बजेट दिइन्छ तर बजेटको सदुपयोग नभएर कमाइ खाने भाँडोको रूपमा प्रयोग भइरहेकोले यस पटक यसलाई प्रमुखता र गम्भीरताका साथ उठाउने निष्कर्षमा पुगेको सखुवानन्कारकट्टी–४ का ब्रम्हदेव यादवले बताउनुभयो। लहान नगरपालिका, सखुवानन्काकट्टी र भगवानपुर गाउँपालिकाको बजेटले बलान नदी नियन्त्रण हुन नसक्ने, यसको लागि सङ्घीय र प्रदेशको बजेट नै चाहिने भएकोले प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारमध्ये कसले समस्या समाधान गर्ने विश्वासिलो आधार दिन्छन्, यस पटकको चुनावमा त्यही उम्मेदवारलाई मत दिने आफूहरूको सोच रहेको भगवानपुर–४ का रामविलास पण्डितले तर्क गर्नुभयो। 

यस पटकको निर्वाचनमा मतदाता लोभ प्रलोभनमा नपरी क्षेत्रको समस्या समाधान गर्न सक्ने सामथ्र्य भएका उम्मेदवारलाई नै चुन्ने धारणा बनाउनु असल पक्ष भएको मानव अधिकारवादी राजकुमार राउतले बताउनुभयो। सिरहा–१ निर्वाचन क्षेत्रमा लहान नगरपालिकाको २४ वडा, लक्ष्मीपुर पतारी गाउँपालिका–५, सखुवानन्कारकट्टीको ५, भगवानपुर गाउँपालिका–५ र धनगढीमाई नगरपालिका–२ गरी यस क्षेत्रमा ४१ वटा वडा रहेका छन्।