• १३ वैशाख २०८१, बिहिबार

उपत्यकामा स्वच्छ पानी

blog

नेपाली राजनीतिमा सन्त नेताका रूपमा परिचित कृष्णप्रसाद भट्टराईले  काठमाडौँको पानी अभाव समाधान गर्न सिन्धुपाल्चोक जिल्लास्थित मेलम्ची खोलाको पानी ल्याएर समाधान गर्ने सपना देख्नुभएको थियो। यसै अवधारणा अनुरूप झन्डै तीन दशक अघिदेखि मेलम्चीको पानी  काठमाडौँ उपत्यका ल्याउन विभिन्न तयारी गरिए पनि समयमा काम हुन सकेन। नेपालका निम्ति ठूलो परियोजनाका रूपमा रहेको यो खानेपानी परियोजना असाध्यै ढिला भयो। ढिलासँगै निर्माणकै अन्तिम चरणमा विभिन्न प्राकृतिक तथा आर्थिक आरोहअवरोहको पनि सामना गर्नुप¥यो।  यिनै अनेक कारणले तीन दशकभन्दा बढी समय यस परियोजना निर्माण सम्पन्न हुन लाग्यो। अन्ततः केही समयपहिले  काठमाडौँमा मेलम्चीको पानी आंशिक रूपमा झारियो तथापि वर्षात्को बेला बन्द भयो। गत वर्ष मेलम्ची क्षेत्रमा आएको भीषण बाढीका कारण मेलम्ची परियोजनामा निकै क्षति भई पानी वितरण अवरुद्ध भएकोले पनि वर्षात्मा बन्द गर्नुपर्ने बाध्यता थियो। 

काठमाडौँ उपत्यकामा सफा खानेपानी सपना नै भएको छ र यो एकै दिनमा आएको समस्या पनि होइन। लामो समयदेखिको  समस्या एकै दिनमा समाधान हुने पनि होइन। खानेपानीको समस्या समाधान गर्ने हो भने नियमित तवरमा मेलम्चीको खानेपानी वितरणको कुनै विकल्प छैन। मेलम्ची खानेपानी परियोजनामा अर्बौं रुपियाँको लगानी भइसकेको अवस्थामा यसलाई राजधानीको पानी वितरणका निम्ति भरपर्दो तथा दिगो माध्यम बनाउनु उपयुक्त हुन्छ। त्यसो त मेलम्चीको पानीसँगै लार्के खोलाको पानी पनि  काठमाडौँ ल्याउने लक्ष्य छ । यसो हुन सके  उपत्यकाको पानी आपूर्तिले दिगो रूप लिन सक्नेछ।

अहिलेको अवस्थामा अवरुद्ध मेलम्चीको पानी  काठमाडौँ ल्याउनु र नियमित तवरले वितरण गर्न सक्नु निकै महŒवपूर्ण विषय हो। निर्वाचनलाई ध्यानमा राखेर पानी आपूर्तिको कुरा आएको हो भने त्यो राम्रो होइन। खास समस्या समाधान गर्ने गरी काम हुनुपर्छ।  वर्षात् अघि मेलम्ची बन्द हुँदा दशैँपछि मेलम्चीको पानी काठमाडौँमा ल्याउने कुरा भएको थियो, अब बल्ल सुरसार हुँदैछ। यसका निम्ति मेलम्ची खानेपानी योजनाको हेडवक्र्ससम्म पुग्न गत वर्षको बाढीले बगाएको पहुँच सडक तथा अस्थायी पुल निर्माणको कार्य थालनी गरिएको समाचार आफैँमा राजधानीवासीका लागि सुखद हो। यस वर्षको मनसुन सुरुवातसँगै मेलम्चीको मुहान बन्द गर्न बाध्यता नै थियो। आगामी  वर्षात्मा बन्द गर्ने गरी अब काम हुनु हुँदैन। दिगो समस्या समाधानको उपाय निकाल्नु पर्छ।

राजधानीमा पानी वितरणका निम्ति मेलम्चीको विकल्प छैन। यस सन्दर्भमा गत वर्षको बाढीले आयोजनाका हेडवक्र्स, सडक तथा पुलजस्ता भौतिक संरचनामा पु-याएको क्षतिको मर्मतसम्भार यथाशीघ्र गर्नुपर्छ।  काठमाडौँ उपत्यकावासीलाई पानीको समुचित प्रबन्ध सबै तहको सरकारको मूल कार्यसूची हो। अस्थायी रूपमै भए पनि यी क्षतिग्रस्त भौतिक संरचनाको मर्मतसम्भार गरेर यही मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अगावै  काठमाडौँमा पानी पु-याउने कार्य हुनु वास्तवमै सबैका लागि हर्षको विषय पक्कै  हो तर आँखामा छारो हाल्ने गरी काम हुनु हुँदैन। दिगो समाधानमा प्रभावकारी काम हुनुपर्छ।

मेलम्चीको नाम र सपनामा राजधानीले मात्र होइन, मुलुकले नै लामो समय र धनराशि व्यय गरिसकेको छ। यो परियोजनालाई कतिपयले दुहुनो गाई बनाउन खोजेका छन् भने त्यसको समीक्षा हुनुपर्छ। वर्षैपिच्छे आउने बर्खा याम तथा बाढीले मेलम्चीका संरचना क्षतिग्रस्त गर्दै काठमाडौंँ उपत्यकाको खानेपानी वितरण प्रणाली नै अवरुद्ध हुने समस्याको दीर्घकालीन समाधान आवश्यक छ। त्यसका निम्ति विज्ञ तथा प्राविधिकहरूको ज्ञान र सीपको प्रयोग हुनु अति आवश्यक छ। बर्खा याममा मेलम्चीको पानीबाट वञ्चित हुनुपर्ने अवस्था अब आउनु हुन्न। सफा पानीको प्रत्याभूति हुनुपर्छ। मेलम्ची परियोजनाबाट अधिकतम फाइदा लिने गरी काम हुनुपर्छ। साथै बाढीले क्षतिग्रस्त भौतिक संरचनाको अस्थायी मर्मतसम्भारभन्दा स्थायी सम्भारमा जोड दिन सकेमा राज्यकोषमा व्ययभार कम हुनेछ।  संरचना मर्मतसम्भारमा गुणस्तरीय निर्माण सामग्री तथा अब्बल इन्जिनियरिङ ज्ञानको प्रयोगले संरचनाको दिगोपनामा महŒवपूर्ण योगदान पुग्नेछ। काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउने यो तेस्रो पटकको प्रयास दिगो र दीर्घकालीन हुनुपर्छ। उपत्यकामा स्वच्छ पानीको आपूर्ति मूल दायित्व हो भन्ने कुरालाई गम्भीर रूपमा ध्यान दिनुपर्नेछ।