• १५ चैत २०८०, बिहिबार

नोबेल विजेतालाई नेपाली अर्थतन्त्रको चिन्ता

blog

आर्थिक सङ्कट न्यूनीकरणका उपाय तथा बैङ्कको भूमिकाको सफलताको आधारस्तम्भउपर खोज गरेबापत यस वर्षको अर्थशास्त्रका लागि नोबेल पुरस्कार तीन जना अमेरिकी अर्थशास्त्री बेन वर्नान्के, डगलस डायमन्ड र फिलिप डिवभिगले प्राप्त गर्न सफल भएका छन्। यी तीनै जना अर्थशास्त्रीमध्ये प्रोफेसर बेन वर्नान्के; जसले सन् २००६ देखि २०१४ सम्म अमेरिकी केन्द्रीय बैङ्कको प्रमुख जिम्मेवारी सम्हालेका थिए। उक्त प्रमुख जिम्मेवारी सम्हालेको अवस्थामा आर्थिक वृद्धिलाई प्रेरित गर्न बजारबाट ठूलो परिमाणमा ऋणपत्र खरिद गर्ने उपाय तथा आर्थिक सङ्कटमा बैङ्कलाई धराशायी हुनबाट जोगाउने नीति लिएका थिए । जसका कारणले सन् २००८ को सेप्टेम्बरमा अमेरिकामा लेहम्यानको पतनपछि सुरु भएको अमेरिकी अर्थतन्त्रको मन्दीबाट संसारभर उत्पन्न वित्तीय सङ्कट मत्थर गराउन सफलता प्राप्त भएको थियो। उनले इतिहासकै सबैभन्दा खराब आर्थिक सङ्कट सन् १९३० को महामन्दीको समेत विश्लेषण गरी त्यस्तो मन्दीबाट अर्थतन्त्रलाई उकास्ने विभिन्न उपाय पत्ता लगाएका थिए। 

यसैगरी अन्य अर्थशास्त्री डगलस तथा फिलिप डिवभिगले पनि बैङ्क धराशायी भएको अवस्थामा बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रेरित गरेका थिए। तीन जना अर्थशास्त्रका लागि नोबेल पुरस्कार विजेतामध्ये बेन वर्नान्केले लेखेको म्याक्रो अर्थशास्त्रको सिद्धान्त नामक पुस्तक चर्चित छ। उक्त पुस्तकमा राज्यको अनुभवलाई ध्यानमा राख्दै बृहत् अर्थतन्त्र अर्थात् म्याक्रो अर्थशास्त्रमा महामन्दी कसरी हुन्छ भन्ने चित्रणसमेत गरिएको छ। आर्थिक मन्दीलाई न्यूनीकरण गर्न राज्यले विभिन्न नीति बनाई लागू गर्न‘पर्ने कुरा पुस्तकमा उल्लेख छ । सरकारले अर्थतन्त्रको कार्यसम्पादनलाई सकारात्मक प्रभाव पार्ने गरी बृहत् आर्थिक नीति बनाउनुपर्नेमा जोड दिइएको छ। 

पुस्तकको चाखलाग्दो विषय भनी बेन वर्नान्केले नेपालमा आफू पिस क्रप्स भोलेन्टियर भएर काम गरेको अवस्था उल्लेख गर्दै बृहत् अर्थशास्त्रको विषयमा नेपालको झापा जिल्लामा रहेका बिर्खमान भन्ने एक व्यक्ति जसको मुख्य काम खाना पकाउने हो। बिर्खमान कपाल काट्ने, घरको छाना छाउने, घडी बनाउने, घरमा प्लास्टर गर्ने आदि काममा पनि संलग्न भएको उल्लेख गरिएको छ। बिर्खमानको कामलाई अमेरिकी नागरिकको कामसँग पनि वर्नान्केले तुलना गरेका छन्। 

वर्नान्के भन्छन्, “अमेरिकी नागरिक एक मात्र रोजगारमा संलग्न रहने गर्छन् तर त्यस्तो रोजगारीमा दक्ष सीप रहन्छ र आय पनि बढी नै हुन्छ।” जब कि बिर्खमानजस्तै कतिपय नेपाली धेरै काममा संलग्न भए पनि दक्ष छैनन् र आय पनि कम छ। यसैले एक मात्र रोजगार गर्ने अमेरिकीको तुलनामा धेरै काममा संलग्न भए पनि नेपाली गरिब छन् भन्ने वर्नान्केले उक्त पुस्तकमा उल्लेख गरेका छन्। यस्तो हुनु समग्र नेपालीको प्रतिव्यक्ति आय कम भएर पनि हो। 

उक्त पुस्तकको धेरैजसो पृष्ठमा नेपालको उदाहरण दिइएको छ। यसबाट यो स्पष्ट हुन्छ कि हालै अर्थशास्त्रमा नोबेल पुरस्कार विजेतामध्ये बेन वर्नान्के नेपाली अर्थतन्त्रका बारेमा जानकार अर्थात् परिचित विजेता हुन्। जसमा नेपालले समेत गौरव गर्न‘पर्छ। सन् १९३० संसारभर खराब आर्थिक 

सङ्कटमा परिणत हुनुका कारणमध्ये राज्यको कमजोर भूमिका थियो भन्ने गरिन्छ। जुन संसारले अहिलेसम्म देखेको सबैभन्दा खराब आर्थिक सङ्कट रह्यो।

त्यस्तो आर्थिक सङ्कटको जोखिमलाई न्यून गर्न राज्यले निक्षेप बिमा प्रदान गर्ने तथा बैङ्कलाई ऋणदाताका रूपमा काम गर्न लगाएमा त्यस्तो सङ्कट

 न्यून रहन सक्ने भनाइ नोबेल पुरस्कार विजेताको छ। सन् २००८ मा अमेरिकाले मन्दीको सुरुवात अवस्थामा नै आर्थिक सुरक्षात्मक उपाय अपनाएकाले ठूलो आर्थिक मन्दी हुनबाट संसार जोगियो। 

सोही अनुभवका कारणले गर्दा कोभिड–१९ महामारीले उत्पन्न गर्न सक्ने आर्थिक मन्दीलाई सुरुका अवस्थामा नै बैङ्किङ प्रणालीमार्फत सुरक्षात्मक कदम चाल्न थालेकाले नै ठूलो आर्थिक मन्दीबाट संसार जोगिन सकेको हो। उक्त पुस्तकमार्फत नै वर्नान्केले सरकारी नीतिले अर्थतन्त्रलाई सकारात्मक तथा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले नीतिनिर्मातालाई राम्रो काम गर्न र गम्भीर आर्थिक गल्तीबाट बच्न अर्थशास्त्रीले मद्दत गर्न सक्छन् भन्ने नोबेल पुरस्कार विजेताको ठहर छ। यसका अलावा व्यक्तिगत स्तरमा समेत बृहत् आर्थिक नीति र त्यसका प्रभावका बारेमा मानिसलाई शिक्षित बनाउँदा अर्थतन्त्रमा सकारात्मक भूमिका निर्वाह गर्न सकिन्छ भन्नेमा जोड दिइएको छ।

अर्थशास्त्रले अभावको अवस्थामा उत्तम उपायको छनोट र त्यो छनोट भएको नतिजाको अध्ययन गर्ने गर्छ। यसैले अर्थशास्त्रीलाई अभावको निःशुल्क खाजाका सिद्धान्त पनि भनिन्छ। जसअनुसार असीम आवश्यकता तथा चाहना छन् तर प्रयोग गर्ने उपलब्ध स्रोत सीमित छन्। यसर्थ एउटा राम्रो चिज धेरै हुनु भनेको अर्को कम हुनु हो। अभावको अर्को नाम निःशुल्क लन्चको सिद्धान्त पनि हो। जसमा कसैले पनि निःशुल्क लन्च दिँदैन।

कसैलाई कुनै न कुनै रूपमा प्रत्यक्ष/परोक्ष केही दिनैपर्छ। खास गरेर आर्थिक वृद्धि, जीवनस्तर, उत्पादकत्व, मन्दी र विस्तार एवं बेरोजगारी, मुद्रास्फीति तथा अन्य राज्यबीचको अन्तरनिर्भरताले पनि अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्न सक्छ। यसैले राज्य सदैव चनाखो रही विशेषतः उत्पादकत्व बढाउन र बेरोजगारी घटाउन क्रियाशील हुनुपर्छ। नेपालको सन्दर्भमा आर्थिक नीतिले ठोस प्रभाव पार्न सकेको छैन।

व्यवहारमा चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले विभिन्न आर्थिक नीति अवम्लबन गरेको छ। उदाहरणका लागि विद्यालय तहदेखि नै बैङ्किङ तथा वित्तीय क्षेत्रका विषयमा विद्यार्थीलाई साक्षर बनाई बैङ्किङ सेवाको पहुँच विस्तार गर्न एवं नेपाल राष्ट्र बैङ्कको सुपरिवेक्षकीय दायराबाहिर रहेका वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारी र गैरसरकारी संस्थाको प्रभावकारी नियमन, निरीक्षण तथा सुपरिवेक्षण गर्न‘पर्ने सरकारी आर्थिक नीति छ। 

सहुलियतपूर्ण कर्जाको ब्याजदरमा थप एक प्रतिशत बिन्दुले छुट दिन तथा लघु, साना एवं मझौला उद्यम, कृषि सहकारी तथा फर्म महिला उद्यमी र वैदेशिक रोजगारीबाट फर्किएका युवालाई प्रदान हुँदै आएको सहुलियतपूर्ण कर्जालाई व्यवस्थित गर्ने विषय पनि बजेटमा उल्लेख छ। यसैले चालू आर्थिक वर्षको बजेटका यी व्यवस्थाले अर्थशास्त्रका लागि नोबेल पुरस्कार विजेताको भावनासँग केही सामञ्जस्यता हुने देखिन्छ। बजेटको यस्तो व्यवस्था नेपालको हालको अवस्थाका लागि सुखद पक्ष हो।

आर्थिक वृद्धि प्रवद्र्धन गर्न, मानव पुँजी जस्तै– शिक्षा र तालिम वृद्धि गर्न, नीति बचत तथा पुँजी निर्माणलाई प्रवद्र्धन गर्न, अनुसन्धान एवं विकासलाई समर्थन गर्नलगायत निजी क्षेत्रसमेतले उत्पादनशील क्षेत्रमा लगानी र विकासलाई समर्थन गर्ने प्रकृतिको नीति बनाउन आवश्यक छ। कतियप अवस्थामा उत्पादनशील क्षेत्र सञ्चालन गर्न सक्ने कानुनी र राजनीतिक ढाँचाको प्रावधानमा कमजोरी रहेको पाइन्छ। मुख्यतः कानुनी र राजनीतिक कमजोरीका रूपमा नेपालजस्तो विकासोन्मुख देशमा हुने भ्रष्टाचार वा खराब प्रकृतिका कार्यलाई लिइन्छ। जसले गर्दा सहज रूपमा आर्थिक गतिविधि सञ्चालन गर्न गाह्रो पर्छ। 

अर्थ व्यवस्था मन्दीतर्फ जाँदा होस् वा मन्दीबाट सकारात्मक दिशातिर आउँदा होस्, पूर्वानुमान मेल नभई फरक हुने गरेको पाइन्छ। जस्तै– नेपालमा राजस्वको पूर्वानुमान विधिअनुरूप कार्य हुन गाह्रो छ। जसले गर्दा अर्थतन्त्रका सूचाकाङ्क गतिशील हुन सकेको पाइँदैन। नेपालले यस्तो रोक्न सक्नुपर्छ। नेपालजस्तै अन्य विकासोन्मुख देशका अर्थतन्त्रका सामान्य सूचाकाङ्क पूर्वानुमानसँग मेल खाने बनाउनुपर्नेमा नोबेल पुरस्कार विजेताले जोड दिएका छन्। 

हुन त अमेरिकाजस्ता धनी देशका समाजमा पनि अभाव जीवनको आधारभूत तथ्य पाइन्छ। किनकि त्यस्ता समाजले समेत गर्न खोजेको सबै काम पर्याप्त समय, अर्थ वा जनशक्ति अभावले पूरा हुन सक्दैन। यस्तो अवस्थामा अभावमध्येको उपयुक्त अभावको छनोट गर्न सक्ने अवस्था हुनुपर्छ, सिर्जना गर्नुपर्छ। 

अर्थशास्त्रीले भन्ने गर्छन्, “आर्थिक नीति भनेको हवाईजहाज हो। जसरी हवाईजहाजलाई कसरी, कुन ठाउँमा, कस्तो मौसममा, कहिले अवतरण गर्ने भन्ने जिम्मेवारी चालकको हुन्छ। त्यसैगरी आर्थिक नीति कार्यान्वयन गर्न केन्द्रीय बैङ्कको भूमिका हवाईजहाज चालकजस्तै हुन्छ।” किनकि केन्द्रीय बैङ्क संसारभर प्राविधिक तथा व्यावहारिक स्वतन्त्र र सबल हुन्छन् भन्ने विश्वास गरिन्छ। यसै कारणले केन्द्रीय बैङ्कले सरकारलाई सही समयमा उपयुक्त सल्लाह दिनुपर्छ। यस्तो कार्य भएमा अर्थतन्त्र सुधार्न सकिन्छ।

कोभिड–१९ को असर तथा स्थानीय तह निर्वाचनमा भएको खर्चको अवस्था र प्रदेश एवं सङ्घमा हुन गहिरहेको निर्वाचनले गर्दा अर्थतन्त्रमा प्रत्यक्ष चाप परेको छ। यो अवस्थालाई ध्यानमा राख्दै वित्तीय तथा बैङ्किङ क्षेत्रमा हालैका दिनमा देखा परेको आर्थिक गतिविधिलाई उच्च बनाउने चुनौती थपिएको छ। आर्थिक वृद्धिलाई बढावा दिई रोजगारीको क्षेत्रलाई विस्तार गर्ने, अर्थतन्त्रलाई चलायमान बनाई बैङ्किङ, वित्तीय संस्था तथा निजी क्षेत्रको समेत ऋणलगायत अन्य कार्यमा उचित व्यवस्थापन गर्ने, बजार मूल्यलाई स्थिरता कायम गर्ने उपाय अवलम्बन गर्ने र विदेशी मुद्राको सञ्चितीकरणलाई आयात तथा निर्यातको यथोचित माध्यमबाट सन्तुलित राख्नुपर्ने चुनौती छ । अर्थशास्त्रका लागि नोबेल पुरस्कार विजेताको सिद्धान्त अनुसरण गर्दै सुधारोन्मुख कानुनको माध्यमबाट अर्थतन्त्रलाई सकारात्मक दिशामा डो¥याउन सकिन्छ।