• १३ वैशाख २०८१, बिहिबार

चार नेतालाई अपील ड्राफको जिम्मेवारी

सबै प्रदेशमा सत्ता गठबन्धनले कार्यकर्ता भेला गर्ने : यस्तो छ कार्यक्रम

blog

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता । फाइल तस्बिर

काठमाडौं, असोज २७ गते। सत्ता गठबन्धनले सबै प्रदेशमा चुनाव केन्द्रित संयुक्त कार्यकर्ता भेला गर्ने भएको छ। 

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो। नेकपा (एकीकृत समाजवादी) पार्टीले व्यवस्थापन गर्ने गरी कार्तिक ४ गते गण्डकी प्रदेशको पोखरा, नेपाली कांग्रेसको व्यवस्थापनमा  सोही दिन लुम्बिनी प्रदेशको बुटवल, कार्तिक ५ गते कांग्रेसकै व्यवस्थापनमा विराटनगरमा भेला गर्ने कार्यक्रम तय भएको छ। 

त्यसैगरी कार्तिक ५ गते जनकपुरमा लोकतान्त्रिक समाजवादी पार्टीको आमन्त्रण र नेपाली कांग्रेसको व्यवस्थापनमा भेला हुनेछ भने कार्तिक ६ गते सुदूरपश्चिमको धनगढीमा नेकपा (माओवादी केन्द्र)को व्यवस्थापनमा हुनेछ। 

सँगै कार्तिक ६ गते सुर्खेतमा काङ्ग्रेसको व्यवस्थापनमा कार्यकर्ता भेला हुनेछ भने कार्तिक ७ गते संघीय राजधानी काठमाडौंमा माओवादी केन्द्रको व्यवस्थापनमा संयुक्त भेला हुनेछ। 

सबै भेलामा पार्टीका केन्द्रीय समिति सदस्य, पार्टी प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुखसहित तीनतीन जना नेता सहभागी हुनेछन्। कार्यक्रमको अध्यक्षता जुन पार्टी व्यवस्थापक हुन्छ उसले नै गर्नेछ।  भेलामा वक्ताको रुपमा पार्टीका प्रमुख नेता उपस्थित हुनेछन्। 

गठबन्धनले कार्यकर्ता भेलामा वितरण गर्ने गरी अपील प्रकाशनका लागि कमिटी बनाएको छ। अपील प्रकाशन ड्राफ कमिटी गठन भएको हो। कमिटीमा प्रकाशशरण महत, हितमान शाक्य, प्रमेश हमाल र हिमलाल पुरी रहनुभएको छ। 

गठबन्धनले निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने भएको छ। केन्द्रमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठबन्धनले काम गर्ने, प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुख रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्नेछ। जिल्ला संयन्त्रले आवश्यकता अनुसार निर्वाचन क्षेत्र तथा स्थानीय तहमा पनि निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्न सक्ने निर्णय गठबन्धनले गरेको छ।

‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारासहित मतदातासम्म पुग्ने निर्णयसमेत गठबन्धनले गरेको छ।