• १३ वैशाख २०८१, बिहिबार

महिला क्रिकेट : एपीएफको सानदार जित

blog

महिला क्रिकेटमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं, असोज २७ गते । राष्ट्रिय खेलाडीले भरिएको विभागीय टोली एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा आयोजक गण्डकी प्रदेशमाथि सानदार जित निकालेको छ । प्रतियोगितामा दोस्रो जित निकालेको एपीएफले सेमिफाइनलमा पुग्ने सम्भावना समेत बलियो बनाएको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा बिहीबार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई नौ विकेटले हराएको हो । गण्डकीले दिएको २७ रनको सामान्य विजय लक्ष्य एपीएफले १४ बलमा एक विकेटको क्षतिमा पूरा गरेको थियो ।

एपीएफको जितमा कप्तान सिता रानामगरले अविजित १२ रन बनाउनुभयो । इन्दु बर्माले अविजित ९ रन जोड्नुभयो । बलिङमा गण्डकीका लागि शृष्टि जैसीले एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले १८.२ ओभरमा सबै विकेटको क्षतिमा २६ रन बनाएको थियो ।

गण्डकीका लागि कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कप्तान शृष्टि जैसीले जोडेको पाँच रननै गण्डकीको सर्वाधिक रह्यो । बलिङमा एपीएफका लागि इन्दु शर्माले दुई तथा सुमन विष्ट, नेरि थापा, सीता रानामगर र निशा भट्टले एक एक विकेट लिनुभयो ।

जितसँगै समूह ‘ए’ मा रहेको एपीएफ चार अङ्क जोड्दै शीर्षस्थानमा छ । तीन खेल सकेको गण्डकी अङ्कविहीन बन्दै अन्तिममा छ । आजै अर्को खेलमा सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । महिला क्रिकेटमा नौ टोलीको सहभागिता रहेको छ ।