• १२ वैशाख २०८१, बुधबार

अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस

संयुक्त पहलबाट जलवायु परिवर्तनको असर कम गर्न विज्ञहरूको जोड

blog

फाइल तस्बिर

काठमाडौं, असोज २७ गते । जलवायु परिवर्तनको असरलाई कम गर्न तीन वटै तहको सरकारले समन्वय र सहकार्यलाई जोड दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

बिहीबार अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा विज्ञहरूले विश्वभर नै जलवायु परिवर्तनको असरले अकल्पनीय क्षति पुगिरहेको भन्दै यसको रोकथाम र न्यूनीकरणका लागि नेपालले पनि विशेष चासो दिएर तीनै तहको सरकारले एक आपसमा समन्वयात्मक भूमिकामा काम गर्न आवश्यक रहेको बताएका हुन् ।

जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले जलवायु परिवर्तनको असरलाई कम गर्न तीनै तहको सरकारले सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । हाल ७५३ वटै पालिकामा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन समिति बनेको उल्लेख गर्नुहुँदै विज्ञ उप्रेतीले सरकारले ऐन, कानुन बनाउने सबै काम सकेको भए पनि त्यसलाई कार्यान्वयनमा लैजान नसकेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘सङ्गठनात्मक हिसाबले हामी धेरै तयारी अवस्थामा छौँ । विपद् जोखिम न्यूनीकरण तथा प्राधिकरण गठन भएको छ, ७५३ वटै पालिकामा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन समिति बनेका छन् ।’’

उहाँले सरकारले बनाएका नीति, नियमको कार्यान्वयनका लागि प्रविधि र पैसाको जरुरी रहेको पनि उल्लेख गर्नुभयो । उप्रेतीले जलवायु परिवर्तनको असरलाई कम गर्न सरकार एक्लै र कुनै एउटा क्षेत्रले मात्र नसक्ने भन्दै सबैको संयुक्त प्रयासबाट मात्रै जलवायु परिवर्तनको असरलाई कम गर्न सकिने बताउनुभयो ।

विज्ञ डा.उप्रेतीले, ‘‘ऐन, बनेको छ, नीति बनेको छ, कार्यनीति बनेको छ, संरचनात्मक काम सबै भएको छ, कार्यान्वयनमा लैजान प्रविधि र पैसाको जरुरी रहेको छ । यसमा सरकार र सबै सरोकारवाला निकायको भूमिका छ । कुनै एउटा संस्थाले मात्रै जलवायु परिवर्तनको असरलाई कम गर्न सकिँदैन । संयुक्त प्रयास आवश्यक छ । सरकारले कुन संस्थासँग कस्तो विज्ञता छ, कस्तो विज्ञ कहाँ परिचालन गर्ने र केन्द्रदेखि स्थानीय सरकारसम्मको सहकार्यलाई बढाउन आवश्यक छ ।’’

विज्ञ उप्रेतीले विगत १० वर्षको तथ्याङ्कलाई हेर्दा नेपालमा सबै विपद्जन्य घटनाको कुल क्षतिमा आधा क्षति जलवायु परिवर्तनका कारण भएको बताउनुभयो । विगत १० वर्षको तथ्याङ्कअनुसार नेपालमा सबै खालका विपद्बाट ४५ अर्ब बराबरको क्षति भएको उहाँको भनाइ छ ।

विगत १० वर्षमा सबै खालका विपद्बाट १५ हजार मानिसले ज्यान गुमाएका, सबै खालका विपद्बाट २८ हजार जति पशुचौपायाको क्षति भएको र नौ लाख जति भौतिक संरचनाहरू ध्वस्त भएको बताउनुभयो । जलवायु परिवर्तनका कारण मात्रै विगत १० वर्षमा २० अर्ब बराबरको क्षति भएको तथ्याङ्कले देखाएको जानकारी उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘विगत १० वर्षको तथ्याङ्कलाई केलाउने हो भने सबै खालका विपदबाट ४५ अर्ब बराबरको क्षति भएको छ । सबै खालका विपदबाट १५ हजार मानिसले ज्यान गुमाएका छन् भने २८ हजार पशुचौपायाको क्षति भएको छ । यसैगरी,  नौ लाख भौतिक संरचनाहरू ध्वस्त भएका छन् । जलवायु परिवर्तनको हिसाबले मात्रै हेर्ने हो भने पनि विगत १० वर्षको तथ्याङ्क हेर्दा २० अर्ब बराबरको क्षति भएको छ ।’’

जलवायु परिवर्तनका कारण हालै कर्णाली र सुदूरपश्चिम प्रदेशमा अकल्पनीय घटनाहरू भएको र असोज महिनामा आएका ठूला बाढी जलवायु परिवर्तनको असर रहेको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘‘जलवायु विपदबाट मात्रै जम्मा विपद्को ५० प्रतिशत क्षति भएको छ । विश्वभर नै जलवायु परिवर्तनका कारण कुनै पनि बेला नौला घटना भइरहेका छन् । विश्वभर नै यो अवस्था छ । दुई दिन अघि मात्रै सुदूरपश्चिम र पश्चिमी भागमा भएको क्षतिलाई हेर्ने हो भने प्रत्येक वर्ष घटना बढिरहेका छन् । असोजमा यति ठूलो बाढी देखेका थिएनौँ । असोजमा हिउँका कारण मानिसको मृत्यु र भौतिक संरचना भत्किएको देखेका थिएनौँ ।’’

यस वर्ष ‘सबैका लागि पूर्व सूचना, सबैका लागि पूर्व कार्य’ भन्ने नारासहित विश्व अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस मनाइँदै छ ।