• ७ वैशाख २०८१, शुक्रबार

चितवनमा त्रिपालमुनि कैदीबन्दी

blog

चितवन, असोज २७ गते । चितवनमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या पर्दै आएको छ । कारागार कार्यालय चितवनमा अहिले क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण रात कटाउनका लागि कैदीबन्दीले त्रिपालको सहारा लिनुपरेको छ ।

अहिले दैनिक १२ कैदीबन्दी रातको समयमा त्रिपालको साहरामा बिताउन बाध्य छन् । दुई सय ८० जनाको क्षमता रहेको यस कारागारमा अहिले सात सय ७८  कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी भएका कारण उनीहरुको व्यवस्थापनमा समस्या देखिएको हो । कार्यालय प्रमुख कमलप्रसाद आचार्यले अहिले रातको समयमा कैदीबन्दी व्यवस्थापनमा समस्या आएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “कारागारमा अहिलेको समस्या भनेको कैदीबन्दी बढी हुँदा त्रिपालमुनि बस्नुपर्ने भएको छ ।” कारागारको समस्याका बारेमा कारागार व्यवस्थापन विभागलाई जानकारी गराइएको उहाँले बताउनुभयो । आचार्यले भन्नुभयो, “विभागमा सबै जानकारी गराएका छाैँ । सबैतिर यस्तै समस्या हो ।” उहाँले थप्नुभयो, “कैदीबन्दीको चाप बढेपछि साउनमा केही कैदी स्थानान्तरण गरेका थियौँ । फेरि चाप बढ्न थाल्यो ।”

चाप बढेकै कारण साउन महिनामा ५१ जनालाई स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । स्थानान्तरणको समयमा समेत त्रिपालमुनि बस्नुपर्ने बाध्यता रहेका कारण स्थान्तरण गरिएको र अहिले पनि त्यही समस्या आएको उहाँले जानकारी दिनुभयो । दुई सय ५५ पुरुष कैदीबन्दीको क्षमता रहेको ठाउँमा सात सय २९ र २५ जनाको क्षमता रहेको महिला कैदीगृहमा ५९ जना छन् । चार नाबालिक रहेको आचार्यले जानकारी दिनुभयो ।

कारागारमा छिमेकी जिल्लाबाट समेत कैदीबन्दी ल्याइने  हुँदा कैदीबन्दीको सङ्ख्या दिनहुँ बढ्दै गएको आचार्यले बताउनुभयो । विशेष गरी नवलपुर र मकवानपुरबाट कारागारमा बढी सङ्ख्यामा कैदीबन्दी ल्याइन्छ । उपचारका लागि बाहिरी जिल्लाबाट कैदीबन्दी चितवन ल्याउनुपर्ने हुँदा चाप बढेर व्यवस्थापनमा कठिनाइ भएको हो ।