• ४ वैशाख २०८१, मङ्गलबार

उपेन्द्र यादव संघीयता विरोधी : कांग्रेस सहमहामन्त्री यादव

blog

 धर्बेन्द्र झा

धनुषा, असोज २६ गते। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले एमालेसँग गठबन्धन गरेर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव संघीयता विरोधी रहेको कुरा सावित भएको बताउनु भएको छ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को लक्ष्मीनियाँ गाउँपालिकामा बुधबार नेपाली कांग्रेसले आयोजना गरेको  बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै  उहाँले संघीयता विरोधी रहेकै कारण दुई पटक प्रतिनिधिसभा विघटन गरेको नेकपा एमालेसँग निर्वाचनमा गठबन्धन गरेको दाबी गर्नुभयो।

निर्वाचनमा पाँच दलीय गठबन्धनको पक्षमा जनताले मत हाल्नु पर्ने भन्दै मधेशका जनताले काँग्रेस नेतृत्वको गठबन्धनको पक्षमा मतदान गर्ने दाबी गर्नु भयो।

धनुषा क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवारसमेत रहनु भएका सह महामन्त्री यादवले विगतमा आफ्नो क्षेत्रबाट जितेका जनप्रतिनिधिले जनताको लागि केही नसकेर जनविश्वास गुमाएको र नेपाली काँग्रेसले मात्रै नागरिकता समस्या समाधान गर्न तत्परता देखाएको कारण यस क्षेत्रका जनताले पाँचदलीय गठबन्धनको पक्षमा मतदान गर्ने बताउनु भयो। 

कार्यक्रममा जसपा परित्याग गर्दै धनुषा क्षेत्र नम्बर ४ को (क) बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहनु भएका शेषनारायण यादवले नागरिकता विधेयकमा असहयोग गरेका एमालेसँग गठबन्धन गरेकै कारण जसपा परित्याग गरेको बताउनुभयो। 

नेपाली कांग्रेसका धनुषा सभापति योगेन्द्र पजियारको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका युवा नेता डा.संजिव यादवको नेतृत्वमा एक सय भन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको सो पार्टीले जनाएको छ।