• ११ वैशाख २०८१, मङ्गलबार

एकीकृत समाजवादीका २२ बागीको उम्मेदवारी फिर्ता

blog

काठमाडौं, असोज २६ गते । नेकपा (एकीकृत समाजवादी) का २२ जनाले बागी उम्मेदवारी फिर्ता लिएका छन्। मङ्सिर ४ गते हुने प्रतिनिधिसभातर्फ चार र प्रदेशसभा सदस्यतर्फ १८ जनाले बागी उम्मेदवारी फिर्ता लिएका हुन्।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुधबार उम्मेदवारको नाम फिर्ता लिएको सम्बन्धमा विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभातर्फ ओखलढुङ्गाका उम्मेदवार योगेन्द्र बस्नेत, रामेछापका देवशंकर पौडेल, रसुवाका शिव लामिछाने र स्याङ्जाका विष्णु गिरीको उम्मेदवारी फिर्ता गर्ने निर्णय गरेको जानकारी दिनुभयो। 

प्रदेशसभा सदस्यतर्फ सिन्धुलीका डेकेन्द्र सुवेदी र चित्र लुङ्गेली, रामेछापका झम्क कँडेल, सुर्खेतका शिवप्रसाद उपाध्याय, काभ्रेका बसुन्धरा हुमागाईँ, ओखलढुङ्गाका दिभराज दाहाल र कमलबहादुर खड्का, बर्दियाका दिलबहादुर केसी, लक्ष्मी शर्मा र हर्कबहादुर शाहीको उम्मेदवारी फिर्ता भएको हो। 

यसैगरी, प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी फिर्ता हुनेमा रसुवाका रामप्रसाद न्यौपाने, तेह्रथुमका शिवनाथ खापुङ, गोरखाका जुद्ध विलास र टेकराज भट्ट, नुवाकोटको राजेश थापा, दार्चुलाको वीरबहादुर ठगुन्न, नुवाकोटका राजेन्द्रप्रसाद लोहनी र स्याङ्जाका शर्मिलादेवी पौडेल रहनुभएको छ।