• ६ वैशाख २०८१, बिहिबार

समुद्र पार गरेर कैलाली पुगेका कर्‍याङकुरुङ (फोटो फिचर)

blog

कैलारी गाउँपालिकाको सामरचौरा गाउँमा बुधबार बसेको कर्‍याङकुरुङ चरा । तस्बिर : दिनेश कुश्मी

धनगढी, असोज २६ गते । जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्‍याङकुरुङ सारस चरा कैलालीमा बसाई सर्न थालेका छन् । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आएका कर्‍याङकुरुङ आज कैलारी गाउँपालिका –९ को सामरचौरा गाउँमा देखिएका हुन् । 

सो गाउँ नजिक खेतमा चरा बसेको देखिएका थिए । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट यी चराहरू भारतको राजस्थान र गुजरातमा ६ महिनासम्म बिताउने गरेको चराविद हिरुलाल डङ्गौराको भनाइ छ । 

सात समुद्र पारीबाट आउने यी चरा भारत झर्ने क्रममा नेपालको माथिल्लो मुस्ताङस्थित समर–धौलागिरि हिमालको पश्चिम र डोल्पा गरेर दुई वटा रुटबाट आउने गर्छन् । मुस्ताङ हुँदै आउने कर्‍याङकुरुङ भेरी नदी कोरिडोर भएर भारततर्फ जाने गरेको डङ्गौराले बताउनुभयो ।  

कर्‍याङकुरुङको दोस्रो रुट भने डोल्पा–कैलाली हो । डोल्पा हुँदै आएका कर्‍याङकुरुङ सारस कैलालीको हसुलियादेखि पूर्वतिर कर्णाली कोरिडोर भएर भारततर्फ झर्ने गर्छन् । 

डङ्गौराका अनुसार जानेबेला कर्‍याङकुरुङले चार हजार ८९६ किलोमिटर उडान भर्ने गर्छन् । चराको जाने बेलाको यात्रा १३ देखि ४० दिनसम्मको हुने गर्छ । 

जाडोयाम सकिन थालेपछि पाकिस्तान, अफगानिस्तान, किर्गिस्तान लगायतका देश हुँदै फेरि यी चराहरू रसिया, मङ्गोलियाका लागि फर्कने गर्छन् । फर्कने क्रममा कर्‍याङकुरुङको उडान ६५ देखि ६६ दिनसम्मको हुने गरेको डङ्गौरा बताउनुहुन्छ । यस क्रममा कर्‍याङकुरुङले छ हजार ३४ किलोमिटरसम्म उडान भर्ने गरेका छन् । यी चरा अङ्ग्रेजी अक्षरको भी आकार बनाएर आकाशमा उड्ने गर्छन् । 


Author
अविनाश चौधरी

उहाँ धनगढीबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।