• १६ चैत २०८०, शुक्रबार

गठबन्धनका बागी उम्मेदवार कायमै

blog

चित्र मिजार

सिन्धुपाल्चोक, असोज २६ गते । सत्ता गठबन्धन दलका प्रतिनिधि सभा सदस्य उम्मेदवार विरुद्ध सिन्धुपाल्चोकको दुवै प्रतिनिधि सभामा बागी उम्मेदवार कायम रहेका छन् । गठबन्धन उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका उम्मेदवारले उम्मेदवारी फिर्ता लिनु भएन । 

सत्ता गठबन्धनबाट प्रतिनिधि सभा –१ मा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार रहेका माधव सापकोटाविरुद्ध नेपाली कांग्रेस    सुनकोसी गाउँपालिका –२ का सभापति रामकुमार जिसीले उम्मेदवारी फिर्ता लिनु भएन । रामकुमारले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ । जिसी सुनकोसी गाउँपालिकाका पूर्व अध्यक्ष श्रवणकुमार जिसीका सहोदर भाइ हुनहुन्छ । 

प्रतिनिधि सभा –२ मा गठबन्धनबाट उम्मेदवार रहेका मोहनबहादुर बस्नेतविरुद्ध कांग्रेसकै पूर्व क्षेत्रीय सभापति तथा पूर्व महाधिवेशन प्रतिनिधि बद्री चौलागाँइले पनि उम्मेदवारी फिर्ता लिनु भएको छैन । यस्तै सत्तागठबन्धनका तर्फबाट प्रतिनिधि सभा–१ को ‘ख’ प्रदेश सभा सदस्यका उम्मेदवार सरल सहयात्री पौडेलविरुद्ध कांग्रेसका भक्त भण्डारीले उम्मेदवारी फिर्ता लिनु भएन । भण्डारीले स्वतन्त्र उम्मेदवारका नाममा प्रदेश सभामा उम्मेदवारी दर्ता कायम राख्नुभएको छ ।  

नेकपा (एमाले) बाट प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ र २ र चार प्रदेश सभा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको थिएनन् । राप्रपाका क्षेत्र नम्बर २ का बागी उम्मेदवार यस्मिन ढुङ्गाना, सो क्षेत्रको (क) प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका फणीन्द्र दाहाल, ‘ख’ प्रदेश सभाका योगेन्द्रराज सिग्देलले उम्मेदवारी फिर्ता लिनुभयो ।