• १२ वैशाख २०८१, बुधबार

दशैंपछिको दशा: कर्णालीमा अर्बौँको क्षति

blog

कर्णाली, असोज २६ गते । मुलुकभर परेको अविरल वर्षाका कारण यसपालिको दशैं कर्णालीवासीले राम्रोसँग मनाउन पाएनन् । सर्वसाधारणले बल्लतल्ल दशैंको  टीका लगाउन त भ्याए तर वर्षा, चिसो र हिलोका कारण देश विदेशबाट दशैं मनाउन घर आएकाहरूले परिवारमा बसेर एकापसमा खुसी नै साट्ने अवस्था भएन ।

दशैंको टीकाकै दिन बिहानैदेखि अत्यधिक चिसोसँगै बर्सात सुरु भयो । हिमाली जिल्लावासीको दशैं वर्षा र चिसोले अझ बढी कष्टकर बन्यो । पूर्णिमाको दिनसम्म उज्यालो होला र आफन्तजनसँग टीका जमरा लगाउँला भन्ने आशामा बसेका यहाँका सर्वसाधारण निराश मात्र भएनन्, उनीहरूले विपद्को सामना गर्नुपर्‍यो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार विपद्कै कारण असोज २२ गते अपराह्न ४ बजे कनकासुन्दरी गाउँपालिका–५ जुम्ला बारकोटे गाउँका एकाघरका पाँचसहित सात जनाले ज्यान गुमाए । सोही दिन हिमा गाउँपालिका–३ जोगीवाडामा बाढीमा परी एकै घरका दुई जनाको ज्यान गयो । 

डोल्पादेखि जुम्ला आउँदै गरेकी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्ययनरत एक जना छात्राको गुठीचौर गाउँपालिका–१ मणिसँघु जुम्लामा राति घर भत्केर ज्यान गयो । असोज १९ गतेदेखि टेलिफोन टावर, इन्टरनेट, विद्युत् अवरुद्ध हुँदा कहाँ कति धनजनको क्षति भयो भन्ने यकिन अझै भइनसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

विपद्ले जुम्ला मात्र नभई कर्णालीका दश वटै जिल्लामा वितण्डा मच्चाएको छ । कतै पहिरो, कतै बाढी त कतै चट्याङले अरबौँ जनधनको क्षति गरेको छ । सञ्चारमाध्यम अवरुद्ध हुँदा सबै जिल्लाको क्षति सङ्कलनमा जिल्लाका विपद् व्यवस्थापन समितिहरूलाई समस्या भएको छ । पहिराले कर्णाली राजमार्गलगायत अन्य सहायक मार्ग बन्द हुँदा उद्धार तथा राहतका कार्य गर्न पनि त्यत्तिकै कठिन भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले बताउनुभयो ।

१३ मलामी पहिरामा बेपत्ता भएपछि गाउँ शोकमग्न

कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा असोज २३ गते दिउँसो २ बजे मलामी गएका १३ जना पहिरामा परी बेपत्ता भएपछि राँचुली गाउँ शोकमा डुबेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार राँचुली गाउँभन्दा तल तिला नदी किनारस्थित भाडी खोलाको घाटमा दाहसंस्कार गर्दै गरेको अवस्थामा उक्त खोलामा पहिरो आई १३ जनालाई बेपत्ता बनाएको हो ।

त्यस्तै, कालीकोटको मान्म खाँडा चक्र नगरपालिका–८ सेरावाडा प्रहरी चौकीमा कार्यरत जुम्ला तातोपानी गाउँपालिका निवासी एक जना प्रहरी जवानको सोमबार खोला तर्ने क्रममा मृत्यु भएको छ । असोज २३ गते तिलागुफा नगरपालिका–७ कालीकोट बालीस्थित पहिराले घर भत्किँदा पाँच जना बेपत्ता भएका छन् ।

चङ्खेली गाउँपालिका–५ हुम्ला मेल्छाममा असोज २३ गते आएको पहिराले घर भत्किँदा चार जनाको ज्यान गएको छ । सोमबार आएको पहिराले घर पुरिँदा मुगु रारा छायाँनाथ नगरपालिका–११ सालिम बस्तीमा आठ जनाको मृत्यु भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । एक जना डोल्पासहित जुम्लामा १० जनाको यो विपद्बाट ज्यान गएको छ । डुङ्गेश्वर गाउँपालिका– ५ दैलेखका एक व्यक्ति बेपत्ता भई २३ गते खोला किनारमा मृतावस्थामा भेटिएका थिए ।

दैलेखसहित साबिक कर्णालीका पाँचै जिल्ला गरेर अहिलेसम्म ४२ जनाको मृत्यु तथा बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विपद्कै कारण कर्णालीमा अर्बौँको क्षति भएको जनाइएको छ ।

मुखको गाँस खोसियो  

गत वर्ष असोज ३० देखि कात्तिक १ गते तीन दिनसम्म परेको अविरल वर्षाले पुर्‍याएको क्षतिको घाउ नपुरिँदै तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँवासीलाई फेरि पनि यस वर्ष विपद्ले ठूलो चोट पुर्‍याएको छ । असोज १९ गते दशैंको टीकाको दिनदेखि २३ गतेसम्म परेको अविरल वर्षाले शुक्रबार साँपुल्ली गाउँले करोडौँको क्षति व्यहोर्नुपरेको छ ।

गत वर्ष भेरी खोलामा आएको भीषण बाढीले त्यस आसपासका सयौँ हेक्टर खेतहरू बगरमा परिणत गर्‍यो । त्यो पीडा सकिन नपाउँदै यस वर्ष तिला पिल्ढुस्की, झुलाकोट र दप्क्या खोलाबाट आएको भीषण बाढीले खोला किनार तथा आसपासका खेतमा लगाएको धान, कोदो, मकै, सिमी, भट्टलगायत बाली पूर्णरुपमा नष्ट पारेको छ ।

दशैं मनाएर बाली भित्र्याउने योजना बनाएका यहाँका किसानहरूको मुखको गाँस प्राकृतिक विपद्ले नराम्ररी खोसेको छ । असोज २१ गते आएको बाढीले तिला गाउँपालिका–४ साँपुल्ली गाउँस्थित शेरबहादुर शाही, राइबहादुर शाही, दत्तबहादुर शाही, लङ्कबहादुर शाही, मीमबहादुर शाही, रतनबहादुर शाही र लालबहादुर सुनारका घरमा क्षति पु¥याएको छ । बाढी आएको सूचना गाउँले दिएपछि उनीहरूले घरबाट भागेर ज्यान जोगाउन सफल भएका थिए ।

विस्थापित भएका उनीहरूले अहिले छिमेकमा सहारा लिनुपरेको छ । बाढीले विभिन्न परिवारका गरेर करिब एक दर्जनभन्दा बढी बाख्रा, कुखुरा र खरायो बगाएको पीडित दत्तबहादुर शाहीले बताउनुभयो । “पानी रोकिएको छैन । फेरि पनि बाढी आएर लैजाने हो कि भन्ने त्रास बढिरहेको छ । बाढीको मुखमा परेर होला, छोरी राति सुतेको अवस्थामा तर्सिने”, उहाँले भन्नुभयो ।

त्यस्तै, फुटाखोला, खानताडो, पानी प्याउन खोलामा आएको बाढीले दुनी, मेहलचुन, धिमधाराका खोला किनारका खेतमा लगाएको सिमी, मकै, कोदो, चिनो, कागुनो बाली नष्ट गरेको छ भने सोही बाढीले झारखेत, मुसिखेत, लिडाला, भूँडाधारा, खोलीखेत, थाम्खोला, मुँडेनी खोला, भूँर र कुनाखेतमा लगाएको सयौँ खेतको अन्नबाली पूर्णरुपले नष्ट गरेको स्थानीय पृथ्वीबहादुर शाहीले जानकारी दिनुभयो ।

“बाढीले घर भित्र्याउने बेलाको बाली नष्ट मात्र गरेन, यसले हाम्रो खेतबारी नै बगर बनाएको छ,” शाहीले भन्नुभयो, “गत वर्षको बाढीले रित्याएको हाम्रो घर यसपटक झनै ध्वस्त पारेको छ । मुखको गास खोस्ने गरी आएको विपत्तिले हाम्रो उठिबास भएको छ ।”

विपद्ले जुम्लाका सात गाउँपालिकामा बढी क्षति भएको जनाइएको छ । धनजनको क्षति कनकासुन्दरी, हिमा र तिला गाउँपालिकाले व्यहोर्नु परेको छ भने तातोपानी गाउँपालिकाको लाक्षु, राँका, बाइराँका ज्यूलो बाढीले ढाकेको छ । तिला गाउँपालिकाको घोडासिन बस्ती बढी जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

कर्णाली राजमार्ग पुनः सञ्चालन हुन दुई साता लाग्ने

यही असोज १९ देखि २३ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढी पहिराले कर्णाली राजमार्गको आवागमन ठप्प भएको छ । पहिरो र बाढीले क्षतविक्षत राजमार्ग सञ्चालन गर्न दुई साता लाग्ने जनाइएको छ ।

कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडक खण्डका विभिन्न स्थानमा गएको पहिरो तथा बाढीले लामो तथा छोटो दूरीमा चल्ने यातायातका साधनको आवतजावत ठप्प भएको हो । सडक बन्द हुँदा बाढीपहिरोमा परेका मानिसको उद्धार हुनसकेको छैन भने आफन्त गुमाएका तथा विस्थापित परिवारले अहिलेसम्म राहत पाउन सकेका छैनन् ।

एकातिर अविरल वर्षाका कारण आएको बाढी पहिराले भित्र्याउनै लागेको किसानको अन्नबाली पूर्णरुपले नष्ट गरी खेतबारीसमेत बगर बनाएको छ, भने अर्कोतिर राजमार्ग सञ्चालन हुन नसक्दा खाद्य तथा दैनिक उपभोग्य समानको अभाव भएको छ । चामल, तेल चिनी र सवारी साधनको इन्धन अभावका कारण मूल्य दोब्बरले बढ्न थालेपछि यहाँका सर्वसाधारण मर्कामा परेका छन् ।

राजमार्ग सञ्चालन गर्न तथा विपद्बाट क्षति भोगेका परिवारका लागि तत्काल राहतको व्यवस्था गर्न जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाको बैठकले कर्णाली राजमार्गअन्तर्गत जुम्ला र नाग्म–गमगढी सडक खण्डको क्षतिग्रस्त सडक पुनः सञ्चालनमा ल्याउन डोजरको प्रबन्ध गर्ने निर्णय गरेको छ । त्यसका लागि सडक डिभिजन कार्यालय जुम्ला र विभिन्न निर्माण कम्पनीका डोजर प्रयोग गरी आवश्यक इन्धन समितिले व्यवस्था गर्ने जुम्लाका प्रमुख जिल्ला अधिकारी केशरीले जानकारी दिनुभयो । “हामीले क्षतिग्रस्त सडक खुलाउन सडक विभागसँग अनुरोध गर्ने निर्णय गरेका छौँ”, प्रजिअ केशरीले भन्नुभयो । विपद्बाट पूर्ण वा आंशिक क्षति भई विस्थापित वा आश्रय लिएर बसेका परिवारलाई तत्काल राहतको व्यवस्था गर्न चन्दननाथ नगरपालिकाले रु चार लाख र अन्य सात स्थानीय तहले रु दुई÷दुई लाखका दरले विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको समेत उहाँले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सडक सञ्चालन गरेर आफन्त गुमाएका, विस्थापित वा आश्रय लिएर बसेका नागरिकलाई तत्काल राहत वितरणका लागि सम्बन्ध निकायसँग आवश्यक समन्वय भइरहेको बताउनुभयो ।

प्रमुख आचार्यका अनुसार बाढीपहिरामा परेका नागरिकको तत्काल उद्धार तथा राहतका लागि भने जुम्लामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । बाढीपहिराका कारण क्षतिग्रस्त कर्णाली राजमार्ग खुल्न भने करिब १५ दिन लाग्नसक्ने जुम्लाका प्रमुख जिल्ला अधिकारी केशरीले बताउनुभयो । विपद्कै कारण टेलिफोन तथा विद्युत् अवरुद्ध हुँदा यहाँका नागरिक सञ्चारविहीन भएका छन् । राजमार्गको तत्काल खुल्ने अवस्था नभएपछि एकमात्र विकल्प हवाई सेवाको भाडा पनि आकासिँदो तरिकाले महँगिएको छ ।

नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले रु छ हजार हवाई भाडा बढेर रु १३ हजार पाँच सय पुगेको बताउनुभयो । उहाँका अनुसार त्यही महँगो टिकटसमेत नागरिकले पाउन सकेका छैनन् । नागरिकका दुःखमा मलम लगाउनुको साटो झनै पीडा थप्ने गरी भएको यस कार्यको तत्काल अनुगमन गरी व्यवस्थापन गर्न उहाँले जिल्ला प्रशासन र नागरिक उड्डयन कार्यालय जुम्लाको ध्यानाकर्षण गराउनुभएको छ ।